मौरीपालनबाट वार्षिक तीस लाख आम्दानी गर्दै पूर्वप्राध्यापक


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माघ २७, कपिलवस्तु । वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका हुन् ।

उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका छन् । बीस घार मौरीबाट व्यवसाय शुरु गरेको उनले अहिले बढाएर १०० घार पु¥याएका छन् । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाएका छन् ।

एक सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आउएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उहाँको भनाइ छ । उनले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उनले अहिलेसम्म रु ४० लाख लगानी लगरेका छन् ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गर्नुभएका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउँछन् । उनले भने, ‘मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु”, “तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।’ पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरा भउको उनले बताए ।

श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गर्नुभएका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिएका छन् । उनले मौरीको मह बेच्ने ‘अर्जुन बेस्ट हनी’ नामको आफ्नै पसल पनि सञ्चालन गर्दै आएका छन्। पसलबाट पनि राम्रै कारोबार हुने गरेको उनको भनाइ छ । ‘आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु’, उनले भने, ‘त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।’

देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उनको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहनुभएका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताए । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com