राज्यमन्त्रीका लागि क-कसको  दाबी ?


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ । साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ । सभापति देउवाले दुई राज्यमन्त्रीका लागि नाम मागेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । ‘कसरी बनाउने भन्ने छलफल नै नगरी खालि दुईजनाको मात्र नाम मागिएको छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘संख्याको मात्रै कुराभन्दा पनि सभापतिको नियतमा प्रश्न उठेको छ । महामन्त्रीले दुई दिन सभापतिलाई भेटेर संख्या मात्र होइन, विधि र प्रक्रियाअनुसार अघि बढौँ भन्नुभएको छ ।’

क–कसको छ दाबी राज्यमन्त्रीमा ?

कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट एकजनालाई बनाउने तयारी छ । देउवा पक्षबाट दीर्घराज भाट, दिलीप गच्छदार, अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, आङटावा शेर्पा, सुजाता परियार, ध्रुव वाग्ले प्रमुख दाबेदार छन् । पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसार्इं, कञ्चनवादे श्रेष्ठको सम्भावना बलियो छ । सिटौला पक्षबाट तारामान गुरुङ र सुधीरकुमार सिवाकोटी चर्चामा छन् ।

चार मन्त्रालय पनि बाँडफाँड गर्ने तयारी

सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका नयाँ पत्रिकामा खबर छ । चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री अहिले चार मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा छन् । अहिले प्रधानमन्त्रीसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छ ।साना दलले मन्त्रीका लागि दौडधुप बढाए पनि प्रधानमन्त्री उनीहरूलाई मन्त्री नबनाउने सोचमा रहेको सचिवालयले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com