शिष्टाचार भेटका लागि आएकी हुँ, एजेण्डा लिएर होइन : सुष्मा स्वराज
प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार
माघ १८, काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आफू नेपाली राजनीतिक नेताहरुसँग शिष्टाचार भेटका लागि काठमाडौं आएको बताएकी छन्।
अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरुसँग बिहीबार साँझ राजधानीको सोल्टी होटलमा भएको कुराकानीमा स्वराजले उपरोक्त कुरा बताएकी हुन्।
भेटमा सहभागी एमाले नेता राजन भट्टराईले भने, ‘म कुनै एजेण्डा लिएर नेपाल आएको होइन, शिष्टाचार भेटका लागि आएको हुँ भन्ने स्वराजको भनाइ थियो।’
डिनरसहितको भेटमा ओलीले नेपाल स्वतन्त्र मुलक भएको बताउँदै नेपाल र भारत विकासका लागि सहकार्य गरेर अघि बढ्नुपर्ने बताएको पनि भट्टराईले जानकारी दिए।
ओली–स्वराजबीचको भेटमा एमाले महासचिव ईश्वर पोखरेल, सुवाष नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, राजन भट्टराई लगायतका नेता सहभागी थिए।