प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठक हेटौंडामा आज बस्दै


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, काठमाडौं । प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । पहिलो प्रदेशसभाका रुपमा प्रदेश नम्बर ३ को बैठक आज बस्न लागेको हो ।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा दिउँसो १ बजेपछि शुरु बैठकमा सहभागी हुन प्रदेश नम्बर तीनका अधिकांश सांसद हेटौंडा पुगिसकेका छन् ।

देश संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेशसभाको बैठक बस्न लागेको हो । सभामुख चुन्न बाँकी रहेकाले प्रदेश नम्बर ३ का ज्येष्ठ सदस्य डोरमणी पौडेलले बैठकको अध्यक्षता गर्नेछन् ।

प्रदेशसभा बैठकका लागि बसेको सर्वदलीय बैठकले पाँच वटा कार्यसूची तयार पारेको छ ।

जसअनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले संसद् अधिवेशन आह्वान गरेको सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य पौडेलले प्रस्तुत गर्नेछन् ।

यस्तै, सातवटा दल र एक जना स्वतन्त्र सांसदले बोल्ने कार्यक्रम छ । प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते चुनाव गर्ने मिति तोक्ने प्रस्ताव पनि आजको बैठकमा राखिने कार्यसूची छ ।

प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यका तर्फबाट सदस्य मनोनित गर्ने तथा प्रदेशसभा अधिवेशनको अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com