अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

भवानीश्वर गौतम/ नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो ।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्य्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषद्का सदस्य एवं शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषद्बाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए । विश्वविद्यालयका कुलसचिव (रजिस्ट्रार) कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् ।

तीनवटा संकाय सञ्चालन हुने
नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए ।

कसरी पढ्न सक्छन् ?
दूरशिक्षा विधिबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी डिग्री प्राप्त गर्न सकिनेछ । प्राध्यापक वाग्लेले तीन तरिकाले अध्ययन गर्न सकिने बताए । विद्यार्थी आफैँले स्वाध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा पढ्नुपर्ने कोर्स र सामग्रीको अध्ययन गर्न सकिनेछ । यदि कोर्स नबुझेमा इमेलमार्फत् प्रश्न सोधेर उत्तर पाउन सक्छन् ।

त्यसैगरी, दुर्गम जिल्लामा स्रोत केन्द्र खोलेर अध्ययनको व्यवस्था गर्न सकिन्छ । नबुझेको सोधेर पढ्न सक्ने व्यवस्था छ । त्यस्ता स्रोत केन्द्रमा सुविधासम्पन्न लाइब्रेरी स्थापना गरी अध्ययन गर्ने अवसर दिन सकिन्छ । अनलाइन माध्यमबाट पनि पढ्न सकिन्छ । अनलाइनबाट रजिस्ट्रर्ड हुने, त्यहाँ अध्ययन गर्ने व्यक्तिले आफ्नो सर्कल बनाउने र अन्तक्रिया गर्नसक्ने विकल्प पनि हुनसक्छ।

यस्तो छ उद्देश्य
ऐनमा प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट स्वःअध्ययन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षाप्राप्तिको अवसर आमजनसमुदाय समक्ष पुर्याई परम्परागत व्यावहारिक ज्ञान र सीपको आधुनिकीकरण गर्दै दूरशिक्षा प्रणालीको सञ्चालन, संयोजन र मापदण्ड निश्चित गर्ने गरी नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको उल्लेख छ । विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्नेछ । व्यवस्थापिका–संसद्बाट पारित भएको नेपाल खुला विश्वविद्यालयको विधेयक ३० असार ०७३ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

यस्ता छन् अरू विश्वविद्यालयभन्दा फरक व्यवस्था
– शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ, अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन्
– अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था छैन
– शिक्षाध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था
– प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति हुने व्यवस्था
– आर्थिक प्रशासनिक काम गर्न कुलसचिव (रजिस्ट्रार)को व्यवस्था

यस्ता छन् फाइदा
– प्रा.डा. मनप्रसाद वाग्ले

-धेरै शुल्क तिरेर उच्च शिक्षा लिन नसक्नेलाई सस्तो शुल्कमा डिग्री
-काम गर्दै पढ्दै गरेर उच्च शिक्षा लिन सकिने
-देशबाहिर लाखौँ मानिस छन्, जसले उच्च शिक्षाको चाहना राखेका हुन्छन्, विदेशमै बसेर उनीहरूले पढ्न सक्नेछन्
-गृहिणीले घरमै बसेर अध्ययन गर्न सक्नेछन्
-पहिले बीचमै पढाइ छाडेका र अहिले निरन्तरता दिन चाहनेहरूले घरमै बसिबसी अध्ययन पूरा गर्न सक्छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com