हुम्लामा आगलागीबाट ४ घर जलेर नष्ट, ९० लाख बराबरको क्षति


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

माघ १४, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ रोडिकोटको कार्कीबाडा गाउँमा शनिबार मध्याह्न बाह्र बजेतिर भएको आगलागीमा चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आठ वटा घर आंशिक रूपमा जलेर क्षति भएको सर्केगाड प्रहरी चौकी इन्चार्ज मनबहादुर भण्डारीले जानकारी दिए। आगलागीबाट पूर्ण रूपमा क्षति भएका घरहरूमा जय बोहरा, खड्क कार्की, शेरबहादुर कार्की र बलबहादुर कार्कीका घर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले बताए। आंशिक रूपमा जलेका घरहरूमा राजेन्द्र कार्की, खड्क कार्की, भ्याँले कार्की, चाउरे कार्की, चक्र कार्की, मैनाबहादुर कार्की, नैन कार्की, जगदीश रावल र मेगजंग कार्कीका घर रहेका छन्। आगलागी सर्केगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासले नियन्त्रण गरिएको छ। आगलागीबाट ९० लाख रुपैयाँ बराबरको क्षति भएको सर्केगाड प्रहरी चौकी इन्चार्ज भण्डारीले बताए। उनका अनुसार लत्ताकपडा, भाँडाकुँडा, अनाज सबै जलेर नष्ट भएका छन् भने पाँचवटा बाख्रा, एउटा घोडा, एउटा जोवा, दुईवटा गाई र कुकुर एक गरी १० वटा पशुवस्तु मरेका र अन्य घाइते भएका छन्। घरमा बसेका बालबालिकाहरूले चिसो भयो भन्दै घरको नजिकै आगो बालेर तापिरहेका बेला एकासि स्याउलामा आगो सल्केपछि घरमा आगोको लप्काले टिपेको स्थानीय राजेन्द्र कार्कीले बताए। कार्कीवडाका सबै गाउँले कर्णाली रोजगार कार्यक्रमको नजिकैको बाटो खन्न गएका र गाउँमा कोही पनि नभएकाले ठूलो आगलागी भएको रोडिकोट गाउँका हर्कबहादुर शाहीले बताए। हुम्लामा लामो समयदेखि हिमपात र वर्षा नभएका कारण पनि आग्लागीका घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। हुम्लाका सांसदद्वारा अग्निपीडितलाई राहत शनिबार भएको आगालागीपीडित परिवारलाई आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट घटनास्थलमा पुगी राहत वितरण गरिएको छ। गृह मन्त्रालयका सहसचिव शंकरहरि आचार्य, हुम्ला जिल्लाबाट प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा, प्रदेशसभा सदस्य दल रावल र जीवनबहादुर शाहीसहितको टोली काठमाडौंबाट हुम्लाको रोडिकोटको कार्कीवडा गाउँमा पुगेको हो। सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामीलगायतको टोली सुर्खेतबाट राहत सामग्री लिएर आगलागीस्थलमा पुगेको र आइतबार बिहान राहत वितरण गरेको स्थानीय बमबहादुर शाहीले बताए। पीडितहरूका लागि १४ वटा पाल, २० वटा त्रिपाल, ८० वटा कम्बल र १२ बोरा चामल, घरायसी सामान, लत्ताकपडा, भाँडाकुँडासहित राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com