२६ वर्षपछि सञ्चालनमा आउदै बागलुङको बलेवा विमानस्थल


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२ , पोखरा । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालीन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओर्लिएका थिए ।

पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि नै बागलुङको बलेवा विमानस्थलमा जहाज आएको थियो । पोखरा र बागलुङमा यति फरक हो कि पृथ्वीराजमार्ग खुले पनि पोखरा विमानस्थल चलिरहृयो तर पोखराजस्तो यात्रुको आउजाउ नहुने बलेवा बिमानस्थल बन्द भयो । पोखरा बागलुङ सडक बनेपछि २०४८ सालमा बलेवा विमानस्थल बन्द भएको थियो ।

बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भयो तर पनि बलेवाको मैदानमा जहाज आउन सकेन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा सुरु भएको छ ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै गराए । फलस्वरुप विमानस्थल निरीक्षण गर्न बुधबार प्राधिकरणको प्राविधिक टोली पुगेर निरीक्षण गरेको छ । निरीक्षणपछि टोलीको निश्कर्ष छ, ‘सामान्य मर्मत, आसपासका रुख र उडड्यन उपकरणहरु नयाँ राख्ने हो भने १र२ महिनामै बलेवा विमानस्थल सञ्चालन गर्न सकिन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाह बुधबार स्थलगत निरीक्षणमा पुगेका थिए ।

‘बलेवाबाट जहाज उडाउन के के समस्या छन् र समस्या समाधान गरेर कहिलेसम्म जहाज उडाउन सक्छौं भन्ने अध्ययन प्रतिवेदन तयार पार्दैछौं,’ नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर ओझाले भने, ‘आसपासका रुख काट्ने, झाडी फाँड्ने, उपकरण जडान गरेर रनवेको सामान्य मर्मतपछि नै विमानस्थल चलाउन सकिने देखियो ।’

आइतबार अध्ययन प्रतिवेदन केन्द्रमा पठाउने इन्जिनियर ओझाले जानकारी दिए । यो विमानस्थलमा ट्विनअटर जहाज चलाउन उपयुक्त रहेको प्राविधिक टोलीको निष्कर्ष छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक इन्द्रराज अधिकारीले विमानस्थल सञ्चालनको समस्या नदेखिएको बताए । ‘हामीले जस्ताको तस्तै प्रतिवेदन तयार पार्छौं । त्यसपछि अन्य एयरलाइन्सले पनि स्थलगत अवलोकन गरेर निर्णय हुनेछ,’ प्रबन्धक अधिकारीले भने, ‘रनवे, आसपासका रुख, उपकरण लगायत केही पूर्वाधार निर्माण गर्ने, बागलुङ बजारदेखि विमानस्थलसम्मको सडक स्तरोन्नति गर्ने काम भए छिट्टै बलेवामा जहाज ओर्लन सक्छ ।’

जहाजमा पोखरादेखि १३ मिनेटमै बलेवा विमानस्थल पुग्न सकिन्छ । बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यही विमानस्थल हुँदै बागलुङ कालिका, ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिने भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहयोगी बन्ने मेयर जनकराज पौडेलको भनाइ छ ।

बलेवा विमानस्थलबाट पोखरा, भैरहवा, काठमाडौं र जोमसोमलगायतका सहरमा जहाजले उडान सञ्चालन गर्दै आएका थिए । यो विमानस्थल हाल खेलमैदान र गौचरण बनेको छ ।

जहाजमा चढेर बागलुङे चैते दशैं मेला

चैते दशैं बागलुङे मेलैमा
लाइदेऊ माया भेट भाको बेलैमा

टीका क्षेत्री र विष्णु माझीले गाएको यो गीतमा जस्तै चैते दशैं र बागलुङ थुप्रै गीतमा अटाएका छन् । ४ सय वर्षभन्दा पहिलेदेखि यो मेला मनाउन थालिएको किंवदन्ती स्थानीय वासिन्दा सुनाउँछन् ।

आउँदा चैते दशैं मेलालाई नै लक्षित गरी यो विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।

बागलुङ नगरपालिका १४ स्थित बलेवा विमानस्थलबाट बागलुङ कालिका र त्यहाँ लाग्ने ऐतिहासिक चैते दशैंसम्म दर्शक र दर्शनार्थी पुर्‍याउने गरी काम थाल्न प्राधिकरणलाई आग्रह गरिएको मेयर पौडेल बताउँछन् ।

प्राधिकरणका पदाधिकारी, विमान कम्पनी, बागलुङ नगरपालिकाका प्रतिनिधि, बागलुङका पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच चैत पहिलो साताभित्रै बलेवा विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै भएको थियो । बुधबार विमानस्थल निरीक्षणमा पुगेको प्राविधिक टोलीले पनि चैतमा नै विमानस्थल सञ्चालनमा ल्याउन सकिने निश्कर्ष निकालेको हो ।

पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक उडान भर्ने सहमति भइसकेको थियो ।

यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवर्द्धनमा बागलुङ नगरपालिकाले सघाउने अर्को सहमति छ ।

थप आर्थिक भार व्यहोर्न पनि तयार छौं स् मेयर पौडेल

वायु सेवा निगम, निजी जहाज कम्पनी, बागलुङ नगरपालिका र पूर्वसांसदको संयुक्त वैठकमा ४ बुँदे सहमति भएको मेयर पौडेलले बताए ।

बलेवा विमानस्थलबाट जहाज सञ्चालनमा ल्याउन यात्रुको सुनिश्चित नै गर्नु परे थप आर्थिक भार व्यहोर्न पनि तयार रहेको सहमति पत्रमा नगरपालिकाले हस्ताक्षर नै गरेको उनले बताए ।

‘पुसको २१ गते बसेको नगर कार्यपालिका बैठकले थप आर्थिक भार व्यहोर्नु पर्ने अवस्था आए पनि नगरपालिकाले व्यहोर्ने निर्णय नै गरेका छौं,’ उनले भने, ‘जहाज कम्पनीले यात्रु हुँदैनन् कि भन्ने शंका गरेकाले सुनिश्चितताका लागि निर्णय गरेका हौं ।’

हप्ताको २ जहाज उडान गर्न १८ सिटे जहाजका लागि १२ सिटको ग्यारेन्टी नगरपालिकाले गरेको मेयर पौडेलले सुनाए । ‘विमानस्थल चल्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘यो विमानस्थल बागलुङको प्रतिष्ठासँग पनि जोडिएको छ । आम नागरिकको चाहना पनि हो ।’

यो विमानस्थल नजिकैबाट चीन र भारत जोड्ने कालिगण्डकी करिडोर गएको छ । मुस्ताङ र पोखराको आपतकालीन विकल्पसमेत बलेवा विमानस्थल बन्न सक्ने मेयर पौडेलको दाबी छ । ‘जोमसोममा हावा चल्दा र हिमपात हुँदा, पोखराको मौसम बिग्रदा र जहाज अवतरण नहुँदा बलेवा विमानास्थल उत्तम विकल्प हुन सक्छ,’ उनले भने ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com