माओवादीकै नेताबाट कुटिए देवेन्द्र पौडेल र टेकबहादुर घर्ती


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

बाग्लुङका एक जना माओवादी नेताले २ जना सांसदलाई कुटेका छन् । कुटिनेमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद माओवादीका देवेन्द्र पौडेल र २ को प्रदेशसभा ‘ख’ का सांसद राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती मगर छन् ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको मिराज होटलमा बसेका दुवै सांसदमाथि माओवादीका जिल्ला नेता तुल्सीराम अर्यालले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अर्यालले दुई सांसदसँगै पौडेलका अंगरक्षकलाईसमेत हात हालेका थिए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पौडेल र घर्ती मगरलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए । आफैंले जिताएका सांसदले आफ्नै ठाउँमा कार्यक्रम गर्न लाग्दा कुनै खबर र समन्वय नगरेको भन्दै आक्रोशित भएका अर्यालले पौडेललाई दुई झापड हानेका थिए ।

होटललाई पौडेललाई दुई झापड हाने पछि अर्यालले धारामा मुख धुँदै गरेका घर्ती मगरलाई पनि हात पात गरे । छुट्याउन गएका पौडेलले अंगरक्षक पनि अर्यालको निसानामा परेका थिए । दुवै सांसदले अर्याललाई हात नफर्काएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बिहीबार दिउँसो निसीखोलामा दुवै जना सांसदको उपस्थितिमा कार्यक्रम भएको थियो । तर त्यो कार्यक्रमका बारेमा कुनै जानकारी नगराएकोमा आवेशमा आएर अर्यालले हातपात गर्नुभएको हो । उहाँले सांसदमाथि हातपात गरेको स्वीकार गर्नुभयो ।

‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, अर्यालले भने ‘हामी यिनीहरुलाई जिताउनका लागि चाहिने, अरु बेला वास्ता नगर्ने ? आफूले कुटाई खाएको स्वीकार गरे पनि पौडेलले यो ठूलो विषय नभएको बताउनुभयो । ‘होटलमा बसिरहेका बेला तुल्सीजीले मदिरा लगाउनु भएको थियो’, पौडेलले भन्नुभयो ‘म अहिले सदरमुकाम फर्केको छु, त्यस्तो ठूलो विषय होइन ।’

बाग्लुङमा प्रभावशाली छवि बनाएका अर्याल २०७० सालको चुनावमा उम्मेदवार थिए । तर उनी थोरै मात्र मतले पराजित भएका थिए । यो पल्टको चुनावमा उनकै क्षेत्रमा पौडेलले टिकट पाएका कारण अर्याल उम्मेदवार बन्न पाएका थिएनन् ।

पार्टी छाडेर नयाँ शक्तिमा लागेको र पछि फेरि माओवादीमा फर्केर पनि पौडेलले नै टिकट पाएकोमा अर्याल असन्तुष्ट थिए । असन्तुष्ट रहँदा रहँदै पनि अर्यालले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com