माओवादी र एमालेबीचको पार्टी एकतालाई कुनै शक्तिले रोक्न नसक्ने पौडेलको स्पष्टोक्ति


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२, बाग्लुङ । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा बाग्लुङका सबै सिटमा बाम गठबन्धनले विजयी हासिल गरेपछि गठबन्धनको मतदाता भेटघाट तथा विजयी उत्सव मनाउने कार्यक्रम जारी रहेको छ ।

यसै विच बिहिबार जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत निसीखोला गाँउपालिका–५ निसीमा वाम गठबन्धनको विजयी सभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले वाम गठबन्धनका उम्मेदवारहरुलाई अमुल्य मतदान गरी विजयी गराउने मतदाताहरुलाई धन्यवाद दिँदै मतदाता सामु चुनावको समयमा गरेका प्रतिवद्वताहरु पूरा गर्न आफू सदैव लाग्ने प्रतिबद्धता जनाएका छन् । सांसद पौडेलले जनताले दिएको मतलाई कुनै पनि हालतमा खेर जान नदिने भन्दै यस क्षेत्रको विकास र समृद्ध बागलुङ निर्माणका लागि आफुले सक्दो प्रयास गर्ने बताए । साथै पौडेलले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको बारेमा छलफल चलिरहेको भन्दै पार्टी एकतामा कसैले शंका नगर्न समेत आग्रह गरे । उनले अब माओवादी र एमालेबीचको पार्टी एकतालाई कुनै पनि शक्तीले रोक्न नसक्ने बताए ।

यस्तै प्रदेश सभाका सांसद टेक बहादुर घर्तीले पनि सभालाई सम्बोधन गर्दै निसी भुजी, तमान क्षेत्रको विकासमा सक्रिय रुपमा लाग्ने बताउदै जनताको अमूल्य मतले आफू बिजयी भएको भन्दै यस ठाउँको विकासका लागि हरबखत जनता माझ रहि जनताकै पिरमर्का बुझी बाकी रहेको जीवन जनतामाझ नै व्यतित गर्ने प्रतिबद्धता जनाए । सांसद घर्तीले यस ठाउँको आवश्यकताअनुसार सबैसँग हातेमालो गर्दै विकासको अनुभुति हुने गरी काम गर्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको बताए ।

यस्तै विजयी सभामा नेकपा एमालेका जिल्ला सदस्य ददिराम शर्मा, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य प्रेम बहादुर घर्ती मगर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खिम विक्रम शाही लगायत त्यस क्षेत्रका गठबन्धका नेतृत्व तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com