शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने अख्तियारको निर्णय


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो ।‘करिब साढे चार करोड रुपैयाँको बिगो मागदाबीसहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘शर्माको आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको भेटियो ।’

निर्णय अत्यन्त गोप्य राखिएकाले उनको कुल आम्दानी र खर्चको फेहरिस्त खुल्न सकेको छैन ।

स्रोतका अनुसार शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन् । उनले कतिपय आम्दानी आफन्त र व्यापारीका नाममा लुकाएको स्रोतले बतायो ।

बढीमा २र३ दिनभित्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरी तयारी भइसकेको छ । यो मुद्दापछि शर्मा शृंखलाबद्ध रूपमा मुद्दा खेप्ने विवादास्पद अधिकारी बनेका छन् ।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रमा हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ । तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

छ महिनापछि तयार भएको अर्को भ्रष्टाचार मुद्दा कुनै फाइल वा निर्णय विशेषमा भएको भ्रष्टाचारसँग सम्बन्धित होइन । राष्ट्रसेवक र सार्वजनिक पदमा रहेका व्यक्तिले वैध र स्रोत पुष्टि हुने आम्दानीको तुलनामा अस्वाभाविक रकम आर्जन गरेको देखिएमा गैरकानुनी आर्जन गरेको ठानी अख्तियारले अनुसन्धान गर्न सक्छ । यो मुद्दाको सुनुवाइका क्रममा शर्माले आफ्नो आर्जनको वैधता आफैं पुष्टि गर्नुपर्ने हुन्छ ।

त्यसो गर्न नसके उनीमाथिको अभियोग अदालतले सही ठहर्‍याउनेछ ।

गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा शर्माले आफ्नो विवरण बुझाउन आनाकानी गरे । केही दिन बयानमा आएका उनी पछि म्याद गुजारेर सम्पर्कविहीन भएका थिए ।

‘लोकसेवाको परीक्षा दिने विद्यार्थीको संख्याभन्दा बढी लोकसेवाको गाइड बिकेको भनेर उनले विवरण देखाएका छन्,’ स्रोतले भन्यो । उनी लोकसेवाको परीक्षा नजिकिँदै गर्दा सञ्चालन हुने ‘कमान्डो क्लास’ मा पढाउन पुग्थे ।

सहयोगीहरूको समूह राखेर नै हरेक वर्ष लोकसेवाको गाइड तयार गर्ने शर्माका दर्जनौं पुस्तक प्रकाशित छन् । स्रोतले भन्यो, ‘शर्माले आफ्नो आर्जनलाई पुस्तक बिक्रीको आम्दानी भनी ज्यादा दाबी गरिरहेका छन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com