‘नेपाली सेनाले भूमिका निकै उच्च’


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान निकै उच्च रहेको बताएका छन् । नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि आइतबार बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाइँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

युद्ध र शान्तिको अन्तरसम्बन्धबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकोले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुन्छ । यस सन्दर्भमा नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकाको म उच्च सम्मान गर्दछु ।’

प्रधानमन्त्रीले नेपाली सेनाको मनोबल उच्च बनाउन, साधन स्रोतले सूसज्जित गर्न, प्रविधिको उपयोगद्वारा आधुनिक सेना निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ । विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ । शान्ति प्रक्रियाका बारेमा सेना र सरकारको समान सोंच महत्वपूर्ण छ ।’ प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै बिपद् व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणमा सेनाले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

सेना बलियो भए राष्ट्रियता पनि बलियो हुने उनको भनाइ थियो । ‘तपाइँहरु ढुक्क हुनुस्, सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट छ । तपाइँको मनोबल उच्च राख्न सरकार हरदम तयार छ ।’ कार्यक्रममा प्रधानसेनापति रविन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com