प्राण आहूति दिने सहिदको सम्झना गरिँदै


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

काठमाडौं, १० माघ । देशका लागि प्राणको आहूत्ति दिने सहिदहरूको सम्झनामा मनाइँदै आएको सहिद सप्ताह आजदेखि सुरु भएको छ ।

सरकारले सहिदहरूको सम्मानमा हरेक वर्ष मनाउँदै आएको सहिद सप्ताह यस वर्ष पनि मनाउन लागेको हो । माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमहरू हुनेछन् ।

सहिदहरूको सम्झनामा २०१२ सालदेखि हरेक वर्ष सहिद दिवस मनाउन थालिएको हो । राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो । उनीहरूलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो ।

शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा हुनेछ । यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

माघ १६ गते रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरमा रहेको सहिद स्मारकमा गएर टुंगिने कार्यक्रम रहेको छ । माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकका लागि प्राण त्याग्ने सम्पूर्ण सहिदहरूको सम्झना गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com