बेचबिखनको जोखिममा हिंसा पीडित महिला


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

—महिला खबर—

काठमाडौं । मानव बेचबिखनको जोखिममा धेरैजसो हिंसा पीडित महिला नै पर्ने गरेका छन् ।

माइती नेपालको आयोजनामा आज काठमाडौंमा ‘मानव बेचबिखन तथा लैंगिक हिंसा नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य’ विषयक समन्वय बैठकमा बोल्दै महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत अनिता अधिकारीले एसएनभिले गरेको अनुसन्धानमा नेपालमा चालिस हजार क्याविन र तीस हजार रेष्टुरेन्टहरू छन् जसमा एक लाख किशोरीहरू कार्यरत रहेको बताईन् ।

अनुसन्धानमा नेपालमा २५ हजार डान्स बार, रेष्टुरेन्ट, मसास सेन्टर रहेका छन् भने साथी संस्थाले गरेको अनुसन्धानमा नेपालमा २५ देखि ३० हजारसम्म महिला तथा किशोरीहरू डान्स, रेष्टुरेन्ट, मसास सेन्टरमा काम गर्छन् । उनीहरूको पारिश्रमिक तीनदेखि पाँच हजारसम्म मात्र रहेको अधिकृत अधिकारीले बताइन् ।

अधिकारीले उपत्यकाका ५० भन्दा बढी डान्स बार, रेष्टुरेन्ट, मसाज सेन्टर, पार्लर, दोहोरी साँझ र खाजाघरमा गरेको अनुगमनले काम गर्ने वातावरण एकदमै अस्वस्थ रहेको बताईन् । ‘त्यहाँ काम गर्ने १६ वर्ष भन्दा मुनीका बालबालिकाहरू छन् । त्यहाँ खाइने मदिरा र धुम्रपानले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको पाएका छौं’ अधिकृत अधिकारीले भनिन् ।

मनोरञ्जन क्षेत्रका श्रमजीवि महिला तथा किशोरीहरूका हक अधिकारको लागि कार्ययोजना तथा उनीहरूको उद्दार पुनस्र्थापनाको तयारी गरिरहेको उनले बताईन् ।

मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले महिलाहरू आत्मनिर्भरता र रोजगारीको खोजीका क्रममा महिलाहरू बेचबिखनमा पर्ने गरेको बताईन् ।

‘मानव बेचबिखन गर्न दलालले जो महिला घरेलु हिंसामा परेको छ, त्यस्ता महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर भारत लगायतका विभिन्न देशहरूमा बेचिरहेको छ’ अध्यक्ष बस्नेतले भनिन् ।

बेचबिखनको स्वरुपमा धेरै परिवर्तन आइरहेकोले जबसम्म अपराधीहरूले दण्ड सजाय पाउदैनन् तबसम्म मानव बेचबिखन जस्तो अपराधलाई न्यूनिकरण गर्न नसकिने माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com