युद्धमोर्चा भन्दा जटिल मोर्चामा विजयी बन्न प्रदेश सांसदहरुलाई प्रचण्डको निर्देशन


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको बलमा अहिलेको संविधान समावेशी बन्न सफल भएको बताउनुभएको छ ।

प्रदेश सभाका नवनिर्वाचत सांसदहरुलाई आज पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धकै कारण संविधान समावेश बन्न सफल भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो राज्यको नजरमा नपरेका वर्ग समुदायबाट ठूलो संख्यामा सरकारमा, संसदमा र प्रदेशमा उपस्थित हुने वातावरण बनेको छ । यो मेरा लागि खुशी र गर्वको क्षण हो ।’

ठूलो त्याग तपस्या र वलिदान पछि समावेशी लोकतन्त्रको अभ्यास गर्न पाएकोमा आफुलाई गर्व लागेको भन्दै प्रचण्डले यसबाट जनयुद्धको औचित्यको थप पुष्टि भएको दाबी गर्नुभयो ।

उहाँले संसदमा महिलाको ठूलो उपस्थितिप्रति इंगित गर्दै जनयुद्धको बेलामा डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तै अनुभव भएको पनि स्मरण गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘हिजो डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तो लागेको छ । महिलाको नयाँ बटालियन तयार भएको छ । यो बटालियन मोर्चामा जाँदैछ’, उहाँले थप्नुभयो, ‘हिजोको मोर्चा भन्दा धेरै जटिल र पेचिलो मोर्चा हो यो । तर त्यो मोर्चा हामीले जित्न सकिन्छ र जित्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले अहिले कांग्रेस र एमालेबाट निर्वाचित सांसदहरुलाई पनि माओवादी जस्तै देखेको भन्दै माओवादीले युद्ध नगरेको भए त्यो अवसर प्राप्त हुन नसक्ने पनि टिप्पणी गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com