दाङ राजधानी बन्ने हल्लापछि ऋण लिएर जग्गा किन्नेहरूको बिचल्ली


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

घोराही निवासी उमेश भण्डारीले प्रदेश ५ को मुकाम दाङ तोकिने आशाले बेलझुण्डीमा प्रतिकठ्ठा सात लाख पर्ने जग्गालाई १५ लाख रुपैयाँको दरले एक बिघा जग्गा किने । ऋण लिएर ८० लाख रुपैयाँ बैनासमेत बुझाइसकेका उनी अस्थायी मुकाम रुपन्देही तोकिएपछि चिन्तामा छन् ।

यसैगरी जग्गा व्यवसायी सुशान्त वलीसहित पाँच जनाको समूहले घोराहीको सर्रामा १० कठ्ठा जग्गालाई १६ लाख रुपैयाँ प्रतिकठ्ठाको दरले ५० लाख रुपैयाँ जग्गा धनीलाई बैना बुझायो । तीन महिनाभित्र सबै रकम चुक्ता गर्ने सर्तमा बैना बुझाएका उनीहरु पनि अब कसरी पैसा तिर्ने भन्ने चिन्तामा छन् ।

रोल्पा इरिवाङकी धनमाया घर्तीले पनि दाङ राजधानी हुने आशामा वेलझुण्डीमा प्रतिमिटर डेढ लाखको सर्तमा १० मिटर जग्गा किनिन् । ९ लाख रुपैयाँ श्रीमानले विदेशबाट पठाए भने बाँकी रकम आफन्तबाट सयकडा तीन प्रतिशत व्याजमा ऋण लिइन् । राजधानी घोषणा भइसकेपछि किनेकोभन्दा महंगोमा बेचेर नाफा कमाउने सपना चकनाचुर भयो जब सरकारले अस्थायी मुकाम रुपन्देही तोकिदियो ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । अस्थायी मुकामको हल्लाले दाङमा धेरैले जग्गा व्यवसायमा हात हालेका थिए । बजार क्षेत्रभन्दा तीन/चार किलोमिटर टाढासम्म जग्गा खरिद गर्न गएका थिए व्यवसायीहरु । केहीले बैंकबाट ऋण लिएर समेत जग्गा खरिद गरे । धेरैले चलेकोभन्दा दुई गुणा महंगोमा खरिद गर्ने गरी बैनासमेत दिइसकेका छन् । तर अब उनीहरुलाई नाफा कमाउने त परको कुरा लागत उठाउने कसरी भन्ने चिन्ता छ । दैनिक दुई-तीन ओटा घडेरीको जग्गा बैना गर्न र जग्गा पास गर्न व्यस्त हुने जग्गा व्यवसायीहरु अहिले प्रादेशिक राजधानी माग्दै दाङमा जारी आन्दोलनमा सरिक भइरहेका छन् ।

आन्दोलनमा भेटिएका घोराही निवासी उमेश भण्डारीले भने, ‘जग्गा धनीले बैना फिर्ता गर्न मान्दैनन्, ग्राहक आउने सम्भावना छैन, अब व्याज तिर्दैमा समस्या पर्ने भयो ।’ आधा पैसा आफ्नै भए पनि आधा पैसा सय कडा तीन प्रतिशत व्याजमा ऋण लिएको उनी बताउँछन् ।

उनले थपे, ‘हामी आन्दोलनमा छौं तर, आन्दोलनले सार्थक परिणाम लिने कुनै संकेत मिलेको छैन ।’

बेलझुण्डीस्थित सँस्कृत विश्वविद्यालयको आयुर्वेद भवनमा संसद भवन र मन्त्रालय राख्ने चर्चा थियो । सरकारको अध्ययन टोलीले पनि पर्याप्त भौतिक पूर्वाधार रहेको निष्कर्ष निकालेको थियो । त्यसबाट उत्साहित भएकाहरुले धमाधम जग्गामा लगानी गर्न थाले ।

बेलझुण्डीमा १५ मिटर जग्गा किनेकी रोल्पा इरिवाङकी धनमाया घर्तीले अहिले विदेश रहेका श्रीमानसँग जग्गाको विषयलाई लिएर कलह सुरु भएको बताइन् । ‘श्रीमानले विदेशबाट फोन गरेर झगडा गरिरहनुभएको, म निकै तनावमा छु,’ उनले भनिन् ।

उच्च अदालत, प्रदेश निर्वाचन कार्यालय र प्रदेश प्रहरी कार्यालय दाङमा स्थापना भएपछि अस्थायी मुकाम तोकिने आशमा करोडौंको जग्गा बैना गर्नेहरुको विजोग भएको छ । सरकारबाट गठित अध्ययन समितिले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम तोक्न दाङ उपर्युक्त भएको प्रतिवेदन पेश गरेको खबरहरु सञ्चार माध्यममा आएपछि दाङमा जग्गाको किनबेच हृवात्तै बढेको थियो ।

जिल्ला मालपोत कार्यालय दाङका निमित्त प्रमुख कमल ओलीका अनुसार दाङ राजधानी हुने हल्लाले दैनिक दुई सय कित्ता जग्गा पास भएको छ । त्यसअघि दैनिक ६० देखि ७० कित्ता जग्गा पास हुन्थे ।

सरकारले कित्ताकाट गर्न प्रतिबन्ध लगाएपछि घरपरिवारकै सदस्यहरुको अंशबण्डा गराएर कित्ताकाट गर्दै जग्गा किनबेच गर्ने क्रम बढेको छ । अहिले भने आन्दोलनका कारण जिल्लाका सबै सरकारी कार्यालयहरु ठप्प छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com