कांग्रेस बैठकमा केन्द्रीय सदस्य, देउवाप्रति आक्रोशित


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

माघ ४, काठमाडौंँ । निर्वाचनमा पराजय भोगेपछि पहिलो उपलब्ध औपचारिक मञ्चमा अधिकांश नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पराजयको दोष नेतृत्वको ठहर्‍याएका छन्।

केन्द्रीय समितिको बैठकलाई राष्ट्रियसभाको गठनको सेरोफेरोमा केन्द्रित गर्न र बाँकी निर्वाचनसम्बन्धी विषयपछि बोलाइने महासमिति लगायतका मञ्चमा छलफल गर्न सुरुमै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरे पनि बिहीबारको बैठकमा बोल्ने ३० जना सदस्यहरुमा सायदै कसैले त्यो सुझावलाई स्वीकार गरे।

देउवाले महासमिति कहिले हुने भन्नेबारे स्पष्ट बताएनन्। यद्यपि आधा दर्जन सदस्यले विधान संशोधनलगायतका महत्वपूर्ण विषय थाती रहेकाले आगामी चैतभित्रै महासमिति बोलाउन माग गरेका थिए।

धनराज गुरुङ, चन्द्र भण्डारी, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतले खासगरी समानुपातिक उम्मेदवारको छनौटमा देउवाका नजिकलाई पार्टी केन्द्रीय समिति निर्देशन विपरित स्थान दिइएकामा आपत्ति जनाए।

डा. रामशरण महतले स्थानीय निर्वाचन र प्रत्यक्षमा स्थान नपाएका र जिल्लामा सक्रिय रहेका अनि राम्रो छवि भएका व्यक्तिहरुले समानुपातिकमा प्राथमिकता पाउनुपर्नेमा यीभन्दा बेग्लै छवि भएका र गुट विशेषका व्यक्तिहरुले प्राथमिकता पााउनु दुर्भाग्यपूर्ण बताएका थिए।

महतलगायत ती सदस्यहरुले निर्वाचन आयोग समक्ष बुझाइसकेको त्यो सूचीलाई अझै पनि सुधार गर्न र त्यस्ता व्यक्तिको नाम झिक्न आग्रह गरे।

बैठकमा सहभागी चन्द्र भण्डारीले निर्वाचनमा नेतृत्वले सशक्त र सक्षम भूमिका नखेलेको आरोप लगाउँदै त्यसको नैतिक जिम्मेवारी लिन र सात दशक पार गरेका आधारमा सक्रिय राजनीतिबाट हटी अभिभावकीय भूमिकामा बस्न आग्रह गरे।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण पार्टीका केही महत्वपूर्ण व्यक्ति पराजित हुनु परेको भन्दै पार्टीको विधान विपरित गठित कार्यसम्पादन समिति तथा संसदीय बोर्डले उम्मेदवार छनोटमा हस्ताक्षर गरेकाले पनि पार्टी यो अवस्थामा आएको बताए।

नेता अर्जुननरसिंह केसीले चुनावी पराजयलाई लिएर चिन्ता वा दोषारोपणभन्दा पनि वास्तविकता र यथार्थ स्वीकार गर्नुपर्ने तथा नेतृत्व गर्ने सभापति, पदाधिकारी र वरिष्ठ नेताहरुले त्यसको जिम्मा लिनैपर्ने बताए। उनले अहिलेसम्म पार्टी नीति, विधि र संस्थागत भन्दा पनि गुट उपगुट र त्यसभित्रको गिरोहले चलेको र त्यसलाई नसुधारेसम्म कांग्रेसलाई सफलता नमिल्ने बताए।

नेतृत्वमाथि आरोप लगाइरहेका बेला पार्टी सभापति देउवालाई बचाउ गर्दै महेन्द्र यादव, एनपी साउद, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतले निर्वाचनमा देउवाबाहेक प्राय सबै नेता आफ्ना र आफन्तका क्षेत्रमा सीमित रहेको र आफ्नो क्षेत्रमा न्यूनतम समय दिएर अरुको प्रचार प्रसारमा होमिएका देउवालाई दोष दिनु नैतिक र राजनीतिक हिसाबमा गलत भएको अडान लिएका थिए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण पार्टीका केही महत्वपूर्ण व्यक्ति पराजित हुनु परेको भन्दै पार्टीको विधान विपरित गठित कार्यसम्पादन समिति तथा संसदीय बोर्डले उम्मेदवार छनोटमा हस्ताक्षर गरेकाले पनि पार्टी यो अवस्थामा आएको बताए।

उनले उक्त समिति र बोर्ड दुवै खारेज हुनुपर्ने माग समेत राखे। तर, देउवा पक्षले पौडेललाई उक्त समिति र बोर्ड गठन गर्दा पौडेल पनि सहमत भएको आरोप लगाएका थिए। बिहीबार उठाइएका विषयलाई सभापति देउवाले शुक्रबार संवोधन गर्ने भएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com