कसरी गयो रातारात नेपाली भूमि भारतमा ? वीरगन्जका सयौ नेपालीको उठिबास


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

वीरगन्जको छपकैयाँको ५० बिघा नेपाली जमिन रातारात भारतमा पर्नेगरि सीमा स्तम्भ निर्माण भएपछि यहाँ सयौं परिवारको उठिवास हुने भएको छ ।
वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडेर भारतीय पक्षमा पारिएपछि यस्तो अवस्था आएको हो ।

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो ।
नयाँ सिमास्तम्भले भारततर्फ पारिदिएको नेपाली भुमिको नेपाली लालपुर्जा समेत स्थानीय सँगै छ । सोही अनुसार जग्गाधनीले मालपोत कर तिर्दै आएका छन् । तर नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए पनि जग्गा भारतमा पर्ने भएपछि स्थानीय आश्चर्यमा परेका छन् । त्यसमध्येपनि केहीले अघिल्लो बर्षमात्रै खरिद गरेको आफ्नो सम्र्पूण जमिन सकिएको गुनासो गरेका छन ।

नेपाल –भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ |

स्थानीय बासिन्दा भन्छन– पुस्तौंदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गा गुमाउनुपर्दा राज्यले ठगेको महसुस भइरहेको छ, न्यायका लागि कसलाई गुहार्ने ?
दुवै देशको सहमतिअनुसार नक्सांकनको काम भएकाले यसमा भारततर्फका जग्गा पनि नेपाली भूभागमा परेको सर्भेका कर्मचारी बताउँछन् ।

नयाँ पिलर गाड्ने क्रममा भूमि गुमेका स्थानीयले पुरानो नक्साबमोजिम नक्सांकन गर्न माग राखेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपालतर्फका टोली प्रमुखलाई समस्याबारे जानकारी गराएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com