दाङमा प्रदेश राजधानी माग्दै, अनश्चितकालीन आम हड्ताल


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

माघ ३, दाङमा प्रदेश राजधानी माग्दै बुधबारदेखि आमहड्ताल सुरू भएको छ। बिहानैदेखि
आमहड्तालका कारण यहाँको यातायात, शैक्षिक संस्था, बजार, कलकारखाना ठप्प भएको छ। पूर्वपश्चिम राजमार्गसमेत आन्दोलनकारीले ठप्प पारेका छन्। त्यसले गर्दा सयौं सवारी साधनमा यात्रारत यात्रु राजमार्गअन्तर्गत दाङ सडक खण्डमै रोकिएका छन्।

पश्चिमको हापुरेदेखि पूर्वको भालुवाङ बजार पूर्ण रूपमा बन्द छ। सर्वसाधारण नागरिक राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका छन्। तुलसीपुर, नारायणपुर, घोराही, लमही, अमेलियालगायतका बजारमा टायरवालेर विरोध प्रदर्शन भइरहेको छ।

दाङ राजधानी नबनाउने षडयन्त्र विरुद्ध नेपाली काँग्रेसकै नेता कार्यकर्ताले देउवाका विरुद्ध नारावाजी गरेका छन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले नै दाङमा आन्दोलन गर्न लगाएका हुन्। प्रदेशसभा सदस्यसमेत रहेका चौधरीले दाङका विरुद्ध षडयन्त्र गर्न नपाइने भन्दै दाङको विकल्प खोज्ने सरकारविरुद्ध सबै दाङवासी सडकमा उत्रन आह्वान गरेका छन्। ‘बरू मलाई आजै मन्त्रीबाट निष्काशन गरे सहन्छु, तर म दाङमाथि हुन थालेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ,’– राज्य मन्त्री चौधरीले भने।

प्रधानमन्त्री देउवालाई बुटवल र भैरहवा क्षेत्रका नेता कार्यकर्ताले ठूलो दबाब सृजना गरेर दाङलाई राजधानीबाट बञ्चित गराउन थालेको हुँदा दाङवासीले पनि आन्दोलनको आँधिबेहेरी सृजना गर्न आवश्यक रहेको उनको तर्क छ।

‘दाङको विकल्प खोज्ने सरकारको निर्णय गतल छ र यसविरुद्ध सबै राजनीतिक दल र आम दाङवासी एक ढिक्का भएर आन्दोनलमा उत्रनुपर्छ,’–चौधरीले थपे ‘ नेकपा माओवादीका नेता कृष्णबहादुर महराजीले दाङका पक्षमा निकै राम्रै भूमिका निर्वाह गर्दै आएको भए पनि नेकपा एमालेका नेताहरुले दाङ अप्ठेरोमा पर्दासम्म पनि मुख नखोल्नु दुर्भाग्य नै हो।’

राज्य मन्त्री चौधरीले सबै राजनीतिक दल र दाङवासी एक भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए ।

आफूहरूको निरन्तरको दबाबले गर्दा मंगलबारको क्याविनेट बैठक सरेको चर्चा गरेका राज्य मन्त्री चौधरीले बुधबारको बैठक पनि सार्न प्रधानमन्त्री देउवालाई दबाब सृजना गरिने बताए। ‘मैले कृष्णबहादुर महरा, शंकर पोखरेललगाएतका नेतासँग कुरा गरेको छु, उहाँहरुलाई आफ्ना दलको तर्फबाट दबाब दिनुहोस भनेको छु,’– राज्य मन्त्री चौधरीले भने, ‘जबसम्म दाङ राजधानी हुँदैन तबसम्म आन्दोलन फिर्ता हुनुहुँदैन।’

उनले दाङलाई राजधानी बनाउने सवालमा धेरै पटक प्रधानमन्त्रीलाई आग्रह गरेको भए पनि बुटवल र भैरहवा नेताहरुले प्रधानमन्त्रीलाई थेग्नै नसक्ने गरि प्रेसर दिएर भैरहवा वा बुटवल राजधानी बनाउन दबाब दिइरहेको बताए।

यसैबीच नेकपा माओवादीका नेता दाङ निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर महराले प्रदेश राजधानी दाङमै हुनुपर्ने बताए। ‘दाङभन्दा बाहिर प्रदेश राजधानी खोज्नु अराजनीतिक र असान्दर्भिक छ,’– नेता महराले भने, ‘म आन्दोलनमै छु, जनताको पक्षमै छु। आन्दोलन चर्काउनु पर्छ र आन्दोलन गर्न म पनि दाङ आउनेछु।’

सबै दृष्टिकोणले दाङ राजधानी उपयुक्त भएको हुँदा अन्यत्र राजधानी खोज्नु अर्दुदसी निर्णय हुने र त्यसविरुद्ध सबै दाङवासीलाई आन्दोलनमा सहभागी हुन उनले आग्रह गरेका छन्। ‘मैले प्रधानमन्त्रीलाई धेरै पटक भनिसकेको छु र आज म सरकारमा छैन, तर पनि प्रयास गर्छु , नभए प्रचण्डमार्फत भए पनि दबाब सृजना गर्छु।’

महराले भने, ‘अन्याय पर्दा आन्दोलन गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो।’ उनले राजधानी बोर्डर क्षेत्रमा स्थापना हुनै नसक्ने दाबी गरे। केही समय पहिला दाङमा महराले आठौं प्रदेश निर्माण गरेरै भए पनि दाङलाई प्रदेश राजधानी बनाउने बताएका थिए ।

दाङमा भइरहेको आमहड्ताल र आन्दोलनका बारेमा प्रतिकृया लिन खोज्दा प्रदेश नं। ५ का मुख्य मन्त्रीको रुपमा प्रस्तावित नेकपा एमालेका नेता शंकर पोखरेलले भने कुरा गर्न चाहेनन्।

दाङलाई राजधानी नबनाउने षडयन्त्र भएको भन्दै श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले आफ्नै सरकारका विरुद्ध दाङमा आन्दोलन गर्न लागेका हुन्। उनको आग्रहमा तुलसीपुर उद्योग वाणिज्य संघले मंगलबार सबैभन्दा पहिला दाङमा प्रदर्शन गर्नुका साथै बजार बन्द गराएको थियो।

त्यसपछि नेविसंघ र नेपाली कांग्रेसका नेता बजारमा झन्डासहित आफ्नै सरकारका विरुद्ध आन्दोलनमा उत्रिएका हुन्। यतिबेला सरकारविरूद्ध दाङमा नारावाजी चलिरहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com