वर्षमा ८,८३४ बालबालिकाको मृत्यु, कारण निमोनिया !


प्रकाशित मिति : आश्विन १४, २०७३ शुक्रबार

एक वर्षयता पाँच वर्षमुनिका आठ हजार आठ सय ३४ बालबालिकाले विभिन्न रोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)को अध्ययन तथ्यांकअनुसार दैनिक सरदर २५ बालबालिकाको मृत्यु हुने गरेको छ ।

आर्थिक वर्ष ०७२/७३ मा चार हजार दुई सय ५६ बालबालिकाको बिरामी भएर स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै र स्वास्थ्य संस्थामा नपुगी मृत्यु भएको एचएमआइएसले जनाएको छ । अस्पताल पुगेपछि पनि चार हजार आठ सय २१ बालबालिकाले ज्यान गुमाएको तथ्यांक छ । सबैभन्दा जोखिम समूह (जन्मदेखि २८ दिनसम्म) मा तीन हजार तीन सय ५३ नवजात शिशुको मृत्यु भएको छ । देशभरमा २९ दिनदेखि ५९ दिनसम्मका चार सय ६८ बालबालिकाको मृत्यु भएको छ, भने दुई महिनादेखि पाँच वर्षका पाँच हजार १३ बालबालिकाको मृत्यु भएको उल्लेख छ ।

मध्यमाञ्चलमा मृत्युदर बढी

बालबालिका मृत्युदर सबैभन्दा बढी मध्यमाञ्चलमा रहेको छ । मध्यमाञ्चलमा मात्रै यो अवधिका तीन हजार नौ सय ४९ बालबालिकाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमाञ्चलमा १८ सय ९१, मध्यपश्चिममा १४ सय ८९, पूर्वाञ्चलमा १४ सय २० र सबैभन्दा कम सुदूरपश्चिममा ६ सय ९ बालबालिकाको मृत्यु भएको छ ।

सर्लाहीमा धेरैको मृत्यु

सर्लाहीमा सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । योे जिल्लामा एक हजार १६ जना बालबालिकाको विभिन्न रोगका कारण मृत्यु भएको छ । सर्लाहीमा चार सय ९१ नवजात शिशुको जन्मेको २८ दिनभित्रै मृत्यु भएको थियो । यस्तै एक सय २६ जनाको जन्मेको २८ देखि ५९ दिनमा र पाँच सय ११ बालबालिकाको त्यसपछि मृत्यु भएको हो ।

यसैगरी दोस्रो बढी मृत्यु हुने जिल्ला बाँके रहेको छ । सो जिल्लामा नौ सय बालबालिकाले ज्यान गुमाएका छन् । यस्तै कास्कीमा आठ सय ७२, मोरङमा आठ सय २७, काठमाडौंमा सात सय ५५, रौतहटमा ६ सय चार, बारामा चार सय २७, पाल्पामा तीन सय १६ र रूपन्देहीमा दुई सय ३६ जनाले ज्यान गुमाएको एचएमआइएसको तथ्यांकमा उल्लेख छ ।

नवजात शिशु मृत्युका चार कारण

१. नेपालमा नवजात शिशुको मृत्युको प्रमुख कारण बच्चामा हुने संक्रमण रहेको बाल स्वास्थ्य महाशाखा एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन कार्यक्रमका प्रमुख पर्शुमान श्रेष्ठ बताउँछन् । शिशुको नाभी काट्ने औजार सही नहुँदा हुने संक्रमण, निमोनिया तथा श्वासप्रश्वासजन्य संक्रमणले बढी नवजात शिशुको मृत्यु हुने गरेको छ ।

२. नवजात शिशुको मृत्युदरको अर्को कारण तौल नपुगेको बच्चा जन्मनु पनि रहेको छ । नेपाल सरकारले दुई किलो पाँच सय ग्राम तौल भएको बच्चालाई सामान्य मानेको छ । त्योभन्दा कम तौल भएका बच्चा उच्च जोखिममा हुने गर्छन् ।

३. सितांग हुने (आवश्यक मात्रामा न्यानो नपाउने) कारण पनि शिशुको धेरै मुत्यु हुने गरेको छ ।

४. चौथो कारण भनेको निसास्सीएर हुने मृत्यु हो । मृत्यु भएका धेरैजसो नवजात शिशु घरमै जन्मिएका हुने गरेको श्रेष्ठको भनाइ छ ।

मृत्यु प्रमुख कारण निमोनिया

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको प्रमुख कारण निमोनिया रहेको छ । केही वर्षअघिसम्म झाडापखाला प्रमुख कारण रहेको थियो । बाल स्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखा प्रमुख मुकुन्द गौतमका अनुसार दोस्रो नम्बरमा झाडापखाला रहेको छ । त्यसैगरी दादुरा, मलेरिया र कुपोषण रहेका छन् । सो समूहका बालबालिकामध्ये एक हजार बालबालिकामा सात सय ६५ जनामा निमोनियालगायत श्वासप्रश्वासजन्य रोगको संक्रमण हुने गरेको छ, भने पाँच सय दुई जनालाई झाडापखाला हुने गरेको नयाँ पत्रिकामा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com