नेतादेखि पत्रकारसम्म मौरी पालनमा आकर्षित, लखपति बन्न सफल


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

माघ २, जुम्ला । हरेक वर्ष जुम्लामा महबाट करोडौं रुपैयाँ भित्रिएको तथ्यांक छ। जुम्लामा हरेक स्थानमा मह उत्पादन गर्न सकिने भएपछि वार्षिक करोडौं भित्रिएको हो। जुम्लाका सबै ठाउँमा मौरी व्यवसाय गर्ने अनुकूल वातावरण भएपछि कृषक लखपति बन्न सफल भएका छन्। कतिपय समूह र सहकारीमा आबद्ध भएर र कतिपयले व्यक्तिगत रूपमा पनि मौरीपालन गरिरहेका छन्।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार गत वर्ष जुम्लामा चार करोडभन्दा बढी महको कारोबार भएको थियो। यस वर्ष तीन करोडभन्दा अलिकति बढी मात्र मह उत्पादन भएको छ। यो गत वर्षको तुलनामा झन्डै २० प्रतिशतले मह उत्पादनमा ह्रास आएको हो। गत वर्ष साढे चार सय टन मह उत्पादन भएकोमा यस वर्ष तीन सय टनभन्दा केही मात्र बढी मह उत्पादन भएको कार्यालयका सूचना अधिकारी बालकराम देवकोटाले जानकारी दिए।

‘असोजको फूल फुल्ने बेलामा बेस्सरी पानी परेकाले मह उत्पादनमा गत वर्षभन्दा कमी आएको हो, जुम्लाको अर्गानिक महको विश्व बजारमा बढ्दो माग छ। जुम्लाको मह भारत, जापान, अमेरिका, चिनलगायत देशमा निर्यात हुन्छ’, उनले भने, ‘अहिले मौरीपालन व्यवसायमा जुम्लाका युवाको आकर्षण बढ्दै गएको पाइन्छ।’

पत्रकारितासँगै मौरीपालन

चन्दननाथ नगरपालिका ५ का सरोज शाही फोटो पत्रकार र काञ्जिरोवा टाइम्स मासिक पत्रिकाका सम्पादक पनि हुन्। झन्डै डेढ दशक पत्रकारितामा समय बिताएका शाही अहिले व्यावसायिक मौरीपालनमा जुटेका छन्। शाही पत्रकारितासँगै मौरीपालनमा लागेपछि धेरैलाई प्रेरणा पनि मिलेको छ।

जुम्लामा मौरीपालनको बढ्दो सम्भावनालाई मध्यजनर गर्दै उनले एक वर्षअघि मौरीपालन सुरु गरेका थिए। २० भन्दा बढी मौरीका घार राखेका उनले यस वर्ष मह बिक्रीबाट झन्डै तीन लाख रुपैयाँ आम्दानी गरे। अहिले उनी अन्य युवालाई सहायक पेसाका रूपमा भए पनि मौरी व्यवसाय गर्न सुझाउँछन्। सुरु सुरुमा मौरीपालन अलि चुनौतीका रूपमा लिएका उनले अहिले सामान्य काम ठानेका छन्।

राजनीतिसँगै मौरीपालन

जुम्ला चन्दननाथ नगरपालिका ३ निवासी रामकृष्ण बढ्थापाले जीवनका तीन दशक राजनीतिमा बिताए। राजनीति गर्दै गर्दा नेमकिपाका केन्द्रीय उपाध्यक्षसमेत बनेका उनी नयाँ शक्ति पार्टीको जिल्ला संयोजकका रूपमा पनि एक वर्ष काम गरे। आर्थिक समृद्धि गर्न कृषि पेसाको विकल्प नदेखेका उनले विगत लामो समयदेखि मौरीपालन व्यवसाय पनि गर्दै आएका छन्। नेपालमा राजनीति गर्नुभन्दा कृषिबाटै समाजलाई ठूलोे राहात प्रदान गर्न सकिने उनको बुझाइ छ।

यस वर्ष मह बिक्रीबाट उनले २० लाखभन्दा बढी आम्दानी गरेको बताए। अहिले उनले पाँच जनालाई यसैमा रोजगारीसमेत दिएका छन्। बुढ्थापाले ठोकुवा गर्दै भने, ‘जिल्लामा मौरी व्यवसायको अधिकतम सम्भावना छ, मौरीपालनलाई व्यावसायिक बनाए महबाटै करोडौँको कारोबार गर्न सकिन्छ।’

सरकारबाट सम्मानित

यस वर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापासँथै देशभरका पाँच जना मौरी कृषक सम्मानित भएका छन्। विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापासँगै देशभरका पाँच जना कृषकलाई राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो।

जसमा एपी सेरानामा जातको मौरीपालन कृषकतर्फ जुम्लाका रामकृष्ण बुढ्थापा, धादिङका नारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भए भने एपी मेलिफेरा जातको मौरीपालन कृषकतर्फ सर्लाहीका मनोजराज सिंह र नवलपरासीका अन्य दुई जना मौरीपालक कृषक पुरस्कृत भए। राष्ट्रिय मौरीपालन विकास कार्यक्रम गोदावरी ललितपुर र व्यावसायिक कीट विकास निर्देशनालय काठमाडौंको सिफारिसमा कृषक पुरस्कृत भएका थिए। उनीहरूले पुरस्कारस्वरूप १० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका थिए।

जुम्ला मौरी पर्यटनका रूपमा विकास हुँदै

जुम्लालाई मौरी पर्यटनका रूपमा विकास गरिने भएको छ। जसका लागि कर्णाली मौरीपालन सहकारी संस्थाले ठोस योजना बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ। जुम्लामा मौरीपालनको सम्भावना प्रचुर भएकाले यसको व्यावसायिकता प्रवर्द्धनसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गर्ने कार्ययोजना बनाइँदैछ।

बजेट अभावका कारण जुम्लामा मौरी चरनखर्क व्यवस्थापनमा केही ढिलाइ भए पनि चाँडै व्यवस्थापन गरिने संस्थाका अध्यक्ष शिवलाल डाँगीले बताए। जुम्ला कृषि उपज उत्पादनका हिसाबले निकै राम्रो मानिए पनि त्यसको बजारीकरण र आर्थिक विकासमा देखिएको समस्यालाई हल गर्न मौरी पर्यटनका रूपमा विकास गर्न ठोस योजना बनाइने उनले बताए।

जुम्लालाई अर्गानिक महको पकेट क्षेत्रका रूपमा विकास गर्न मौरीपालनमा बढावा दिन थालिएको छ। जिल्लामा मौरीको तथ्यांक संकलन गर्ने तयारी भइरहेको छ। बोट विरुवाको फूल फुल्ने समयमा ठूलो वर्षात हुने, मौरीको चरण क्षेत्रको अभाव र उचित घारको व्यवस्थापन नहुनुले अहिले मौरी व्यावसायिकतामा चुनौती थपिएको छ। तर यिनै समस्यालाई मध्यनजर गरी कार्य योजना बनाइ अघि बढ्ने कृषिसँग सम्बन्धित सरोकारवालाले बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com