सुत्केरी हुँदा पानी त पैंचो मागेर पिए, कहाँबाट पाउनु पोषिलो खानेकुरा ?
प्रकाशित मिति : माघ १, २०७४ सोमबार
‘पानी लिन जान एक घण्टाको पैदल हिँड्नुपर्छ । मलाई त दुई घण्टा नै लाग्छ,’ कोखमा ६ महिनाको बच्चा खेलाउँदै गरेकी फुलमाया चेपाङले भनिन् ।
धादिङको ब्रुसवाङकी फुलमायाले पहिलो बच्चा पाउँदाका पीडा सुन्दा मात्रै पनि आङ सिरिङ हुन्छ । ‘बुढा घरमा छैनन् । पानी पनि आफैंले ल्याउनु पर्छ । सुत्केरी हुँदा त मैले सासुससुराबाट पानी पैंचो मागेर खाए,’ फुलमायाले आफ्ना पीडा यसरी सुनाइन् ।
सुत्केरी हुँदा पानी समेत पैंचो मागेर खानु परेको पीडा भोगेकी फुलमायालाई पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने थाहा नभएको हैन । उनको पनि चाहना थियो, बच्चा र आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार खाने । तर चाहँदैमा कहाँ पूरा हुन्छ र ?
तीर्खा मेट्ने गरी पानी समेत पिउन पाइँदैन । पौष्टिक आहार भनेको के हो ?’ फुलमायाले प्रश्न गरिन् ।
पुस्तौंदेखि तीर्खा मेट्ने पानी र भोक मेट्ने खानाका लागि संघर्ष गरिरहेका दक्षिणी धादिङको ब्रुसबाङका चेपाङ समुदाय भएको बस्तीमा स्थलगत अवलोकन गर्न पुगेको जिल्लाको उच्चस्तरीय टोलीसँग फुलमायाजस्तै गुनासो गर्ने धेरै भेटिए
‘सुत्केरी हुँदा पानी त पैंचो मागेर खाए, कहाँ बाट पाउनु पोषिलो खाना ? हामी चेपाङले अन्नपानी खान, स्वास्थ्य, शिक्षाको अवसर कहिले पाउछौं सर ?’ धादिङबेशीबाट गएको टोलीलाई फुलमायाले प्रश्न गरिन् ।
दक्षिणी धादिङको ब्रुसवाङमा रहेका ३६ घर चेपाङ परिवार वरिपरिको विकास हेरर बसेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य र खानेपानीको सुविधाको माग गर्दै उनीहरुले धेरै पटक सदरमुकाम धादिङबेशी पुगेर स्थानिय प्रशासनमा आफ्नो ससमस्या बताइसकेका छन्
सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीको व्यवस्था गर्न नसक्ने भए बस्ती नै स्थानान्तरणको माग गदैं आएका छन् । तर सरकारले न उनीहरुको समस्या समाधान गरिदिएको छ नत सुविधा भएको ठाउँमा सार्न सकेको छ । सरकारले सुविधा दिने आसामा वर्षौं बितेपनि उनीहरुको समस्या भने उस्तै छ ।
‘हाम्रा लागि कि खानेपानी ल्याइदिनुस् कि घरजग्गासहित पानी, स्कुल भएको ठाँउमा बस्ती सारीदिनुस्,’ स्थानीय प्रेम बहादुर चेपाङले उच्च स्तरिय टोलीसँग आग्रह गरे, ‘शिक्षा नभइ काम गर्न नपाउने अवस्था छ, हाम्रा बालबालिकाले बाल शिक्षाकै भरमा भविस्यमा के काम पाँउछन् ? पढ्ने अवसर पाए हाम्रा बालबच्चाले पनि अरु जातिसरह हुन सक्थें ।’
चोपाङ समुदायको गुनासो सुनेपछि धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले पानीको व्यवस्थापन गर्न नसकिने भएकाले बस्ती स्थानान्तरण गरिने आश्वासन दिए
‘वस्ती पहाडको चुचुरोमा भएको र आसपासका डाँडाहरुमा पानीका मुहान नभएका कारणले पानीको व्यवस्था गर्न सहज छैन,’ प्रजिअ भण्डारीले भने, ‘त्यसको विकल्पमा बस्ती स्थानान्तरण गर्न सकिन्छ । रोकारवालाहरु मिलेर खानेपानी, आवास, स्कुल, स्वास्थ्य चौकी भएकोे क्षेत्र आसपास बस्ती सार्नुपर्छ ।
ब्रसवाङको बस्ती स्थानान्तरण गरी एकीकृत सुविधा सहितको नयाँ बु्रसवाङ निमार्ण गर्न जिल्ला समन्वय समिति धादिङले यस अघि नै प्रतिवद्धता जनाएको जिल्ला समन्य समितिका प्रमुख जगन्नाथ नेपाले बताए ।
‘३६ परिवार ब्रुसवाङका चेपाङ समुदायले खानेपानी र खाद्यन्नको संकटमा जीवन गुजारीरहेका छन्,’ नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङले भने, ‘यहाँका चेपाङ समुदायको विषयमा ६ वर्षदेखि निरन्तर छलफल मात्रै चलिरहेको छ । समस्याको समाधान अहिलेसम्म भएको छैन ।’
उच्चस्तरीय टोलीमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, देवीदत्त गणका गणपति प्रमुख सेनानी भरत बुढाथोकी, बेनीघाट गाँउपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम बहादुर केसी, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, वडा अध्यक्ष टंक बहादुर थापा, खाद्य अधिकारकर्मी, सञ्चारकर्मी सहितको टोलीले चेपाङ मसुदायसंग सामुहिक र व्यक्तिगत छलफल गरेको थियो ।
बस्ती पहाडको चुचुरो, हिमालको सामुन्ने छ । समुद्री सतहदेखि १ हजार ८ सय ४५ मिटर उचाइमा रहेको यो बस्तीमा गर्मीयाममा पनि हिउँदको जस्तै चिसो हुन्छ ।
यहाँ बस्ने ३६ परिवार १७० जना चेपाङसँग फेर्ने कपडा पनि छैन । जिउमै लगाएको कपडाको भरमा चिसा रात काट्न बाध्य छन् उनीहरु ।
खरको अभावका कारण धेरै जनाले घरको छानो समेत हाल्न पाएका छैनन् । पूरा रात तारा हेरेर बिताउनुपर्ने बाध्यता छ ।
खेतीको नाममा मकै मात्र फल्छ । त्यो पनि वर्षमा ६ महिना मात्रै खान पुग्छ । बाँकी ६ महिना जंगलका गिठा, सिस्नुका जरा र मुना खाएर बाँच्नुपर्छ ।
बाँस र निगालोका डोका, भकारी बनाउन सके केही आम्दानी हुन्छ । तर बजारसम्म पुर्याउनै मुश्किल पर्छ ।