काँग्रेस नेता चन्द्र भण्डारी भन्छन् काँग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

पुस ३०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले समेत नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुृपर्ने माग भण्डारीले राखेका छन् । अहिलेको बुढा पुस्ता असफल भएको उनको तर्क थियो ।

अब तत्काल केन्द्रीय समितिको बैठक बसेर छलफल गर्नुपर्ने र त्यसपछि महासमिति सदस्यहरुको बैठक बसेर विशेष अधिवेशन गर्नुपर्ने मागसमेत भण्डारीले अघि सारेका छन् । विशेष अधिवेशनबाट देउवालाई सभापतिबाट हटाउनुपर्ने उनको जिकिर छ ।

“कांग्रेस समाप्त भइसक्यो । अब पनि यही पुस्ताले नेतृत्व गरिरहने हो भने माथि उठ्न सकिदैन ।” भण्डारीले भने । आफूले गरेको नेतृत्व असफल भइसकेपछि अरुलाई छोड्नुपर्छ भन्ने कुरा देउवाले बुझ्नुपर्ने भण्डारीको तर्क छ । अटेर गरेर पद ओगट्न नहुने भण्डारीले बताए ।

“बाबुआमा धेरै वृद्ध भइसकेपछि छोराछोरीलाई कारोबार हस्तान्तरण गर्नु त सामान्य कुरा हो नि” भण्डारीले भने । कुराकानीका क्रममा भण्डारीले भूमिगत गिरोहबाट बालुवाटार संचालित रहेको दाबी गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com