अब चारभन्दा बढी बच्चा जन्माए, प्रोत्साहन रकम दिने


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

पुस ३०, भारत । भारतको उत्तरपूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ । त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको हो ।

यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ । मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन् ।

हुन त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन् । हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो । गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ ।

गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ । कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन् । बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले भने, “त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन। घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ ।”

मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए । मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । लुंगलेई बजार क्षेत्रमा गिर्जाघरको दबदबा रहिआएको छ । राजधानी आइजलका एक २९ वर्षीया वकिल एमिली छांगते गिर्जाघरको पछिल्लो कदमको समर्थन गर्छिन् ।

त्योसँगै आर्थिक रूपमा कमजोर ग्रामीण क्षेत्रका मानिसलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ । उनी भन्छिन्, “मिजोरम सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन। अतः गिर्जाघरले सही निर्णय लिएको छ ।”

आइजलमा ट्राभल एजेन्सी चलाउने मिरियम बोचुंगको पनि त्यस्तै धारणा छ । उनले भनिन्, “मिजोरममा मिजो समुदायको जनसंख्या निकै कम छ र यो चिन्ताको विषय हो। अरू जातिको जनसंख्या चाहिँ बढिरहेको छ ।” मिरियमले जाति विशेषको नाम उल्लेख नगरे पनि ग्रामीण क्षेत्रमा चकमास र ब्रुसलगायतका अल्पसंख्यक जाति पनि बस्छन् ।

सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो । तथ्याङ्क अनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३।४८ प्रतिशत रहेको छ जबकि पछिल्लो दशकमा २९।१८ प्रतिशत थियो । बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com