उत्तर र दक्षिण कोरियाबीच यस्तो भयो सहमति


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

 

पुस २६, उत्तर र दक्षिण कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सीमामा विद्यमान तनावलाई मत्थर गर्ने उद्देश्यले सैन्य वार्ता गर्न सहमति भएको बताएका छन् । दुई वर्षभन्दा बढी समय पछि भएको पहिलो वार्तामा अर्को महिना दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा सहभागिता जनाउन ठूलै टोली पठाउन पनि उत्तर कोरिया सहमत भएको छ ।

साथै दुई वर्ष अघि निलम्बित गरिएको दुई देशबीचको सैन्य हटलाइन सम्पर्क पुनर्स्थापित गरिने सहमति समेत भएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्ने दक्षिणको आग्रहमाथि भने उसले अझै प्रतिक्रया जनाइसकेको छैन ।

उत्तर कोरियाले दक्षिणमा फेब्रुअरी महिनामा हुने हिउँदे ओलिम्पिक्स खेलमा आफ्नो टोली पठाउन पनि सहमति जनाएको छ । उसको टोलीमा खेलाडी, अधिकारीहरु र समर्थकहरुको एक समूह रहने छन् ।

सोलले दुई देशले उद्घाटन समारोहमा सँगै मार्चपास गर्न प्रस्ताव गरेको छ । उत्तर कोरियाका अधिकारीहरुलाई ओलिम्पिक्समा आउन अस्थायी अनुमति दिने दक्षिणले योजना बनाएको बताइएको छ ।

दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पाम्मून्जम भनिने शान्ति गाउँमा भएको थियो । दुबै पक्षबाट पाँच जना उच्च अधिकारीहरु वार्तामा समावेश भएका थिए । दुवै देशका नेताले सिसिटिभीमार्फत ती कुराकानी नियालेका थिए ।

इश्वी सम्वतको नयाँ वर्षमा उत्तर कोरियाका नेता किम जङ अनले दक्षिणमा हुने ओलिम्पिक्समा आफ्नो टोली पठाउने बारे विचार गरिरहेको बताएका थिए ।
बीबीसी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com