राष्ट्रपतिद्वारा विभिन्न स्रष्टा सम्मानित


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

 

पुस १९, काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव–२०७४मा विजयी कविलाई पुरस्कृत गरेकी छन् ।
राष्ट्रपतिभवन, शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा पहिलो भएका चन्द्र रानोहँछा र दोस्रो सुवास राई ‘क्याप्टेन’ तथा तेस्रो दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान गरिएको हो । पहिलो हुनेलाई ३० हजारसहित पदक, दोस्रो हुनेलाई २५ हजार र पदक तथा तेस्रो हुनेलाई जनही २० हजार रुपैयाँसहित पदक प्रदान गरिएको थियो । गत असार ९ गते प्रतिष्ठानको ६० औँ वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा विजेता कविहरूलाई पुरस्कार घोषणा गरिएको हो ।

यसैगरी प्राज्ञिक क्षेत्रको गरिमामय र धेरै नगद राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार डा। तारानाथ शर्मालाई प्रदान गरिएको छ । प्रत्येक चार वर्षमा दिइने यो पुरस्कारमा चार लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यस्तै, प्रत्येक दुई वर्षमा दिइने जनही एक लाख रुपैयाँका नेपाल प्रज्ञा संस्कृति पुरस्कार डा। वीणा पौड्याल र नेपाल प्रज्ञा भाषा पुरस्कार डा। रामावतार यादवलाई प्रदान गरिएको छ । हरेक वर्ष दिइने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७३ का लागि विमल निभा तथा २०७४ का लागि धुव्र सापकोटालाई प्रदान गरियो । यो पुरस्कारमा पनि एक लाख रुपैयाँ र सम्मानपत्र दिने गरिन्छ ।

यसैगरी, तराई मधेसमा बोलिने मातृभाषा साहित्यका स्रष्टालाई दिइने नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गत वर्षको अब्दुल लतिफ शौकलाई उर्दु भाषाका लागि र यस वर्षको सोमबहादुर धिमाललाई धिमाल भाषाका लागि प्रदान गरिएको छ । पहाडी हिमाली क्षेत्रका लागि मातृभाषा साहित्य पुरस्कारचाहिँ २०७३ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गरियो । यी पुरस्कारमा समेत जनही एक लाख रुपैयाँ र सम्मानपत्र दिने गरिन्छ ।

पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रूपान्तरण र राष्ट्रको समृद्धिमा स्रष्टाहरूको भूमिका अहम् रहने बताइन् । उनले साहित्य तथा संस्कृतिका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन र राट्रलाई समृद्ध बनाउने स्रष्टाहरूलाई सम्मानित गर्न पाउँदा गौरवान्ति भएको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com