१८ वर्षकै कलिलो उमेरमा काठमाडौंमा ठूलो विमान ह्यान्डल गर्ने एक्ली नेपाली चेलीको कथा


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

उडेको टर्किस एयरलाइन्सको वाइडबडी जेट विमान (एयरबस ३३०) काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तरखरमा छ। टर्किसका तर्फबाट काठमाडौं एयरपोर्ट हेर्न तोकिएकी कमर्सियल म्यानेजर रेसु सिंह अरू दिनजस्तै केहीबेरमा यताबाट उड्ने तयारीमा रहेका २ सय ५० यात्रुलाई बोर्डिङ गराउने छिन् भने युरोपबाट आएका यात्रुहरूलाई एयरपोर्ट बाहिर निकाल्ने छिन्। तर, दुर्भाग्य ककपिटमा बसेका ५५ वर्षीय कमान्डर क्याप्टेनका आँखाले काठमाडौंको रनवे प्रस्ट देख्न सक्दैन। १४ हजार घण्टा आकाशमा बिताइसकेका उनले दोस्रोपटक गरेको अवतरण प्रयास असफल हुन्छ। जहाज धावनमार्गमा नभई चौरमा छड्किएर दुर्घटनामा पर्छ।

गौचरन विमानस्थलका कर्मचारी, प्रहरी, सेना सबै धावनमार्गतर्फ दौडिन थाल्छन्। रेसु पनि उनीहरूकै पछि लागेर कुद्छिन्। जहाज दबदबे हिलो भएको घाँसे मैदानमा धसियो। उनीभन्दा अघि दमकल र सेना पुगिसकेका छन्। कस्तो आपत्। हुन त रेसुको मोबाइलमा धेरैपटक ‘जहाज किन ल्यान्ड भएन? किन आकाशमा धेरैबेर होल्डमा पर्यो?’ भनेर सोध्यासोध्यकै अवस्था छ। हेडक्वार्टर इस्तानबुलबाट धेरैपटक गरिएको कलमा उनले ‘बिग्रँदो मौसमका कारण भएको लो भिजिबिलिटी’ भनिदिएकी पनि हुन्।

हिउँदयाममा काठमाडौंको एयरपोर्ट बिहान ६ नबजी खुल्दैन। विमानस्थल खुले पनि हुस्सुले विमान डिलेमा पर्छन्। टर्किसको विमान हिउँदे सिजनमा प्राय: ३० मिनेटेदेखि ४५ मिनेटअघि नै नेपालको सिमाना आइपुग्छ। त्यस दिन पनि विमान आधा घण्टाअघि नै सिमराको आकाशमा पुगिसक्छ। त्यहाँबाट उसले काठमाडौं टावरलाई धेरैपटक मौसमको रिपोर्ट माग्न कल पनि गर्छ।

तर, विमानस्थल ६ बजेपछि मात्रै खुलेकाले जुलियट–अस्कर–चार्ली नाम गरेको त्यो विमान आधा घण्टासम्म नेपाली आकाशमा फन्को मारिरहन्छ। बनारसको सम्पर्कमा रहेको विमान एकपटक काठमाडौंभित्र पनि आउँछ। तर, अवतरण गर्न सक्ने मौसम नभएकाले पाइलट ओभरसुट गराई विमानलाई फेरि सिमरामाथिकै आकाशमा पुर्याउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनापछि रेसु नेपालका लागि तोकिएका जीएममार्फत हेडक्वार्टरमा पनि खबर पठाउँछिन्। त्यति मात्रै होइन, टावर र टीडीओलाई पनि थाहा थिएन, मैले नै खबर गरेकी थिएँ,’ हालैको भेटमा रेसुले घटना सम्झिइन्।

त्यो दुर्घटनाले ब्रेकइभनमा गइनसकेको टर्किस एयरलाइन्सको काठमाडौं स्टेसन सबैतिर चर्चाको विषय बन्यो। भलै त्यो सकारात्मक थिएन। ३ सय ३६ वटा विमान भएको कम्पनीको हेडक्वार्टरमा पनि काठमाडौंलाई नोटिस गर्न थालियो। १ सय १६ मुलुकका २ सय ९० गन्तव्यमध्ये काठमाडौंलाई टर्किसले अलि गम्भीर भई वाच गर्न थाल्यो।

घटनापछि कम्पनीका भाइस चियरम्यान र त्यहाँको नागरिक उड्डयनका अधिकारीहरू काठमाडौं ओर्लिन बाध्य भए। यो घटनापछि काठमाडौं स्टेसनकी मेरुदण्ड बनिन् ३० वसन्त पार गरेकी रेसु। सानो उमेरको ठूलो अभिभारा। दुर्घटनाग्रस्त विमानका कारण काठमाडौं रनवे चार दिन ठप्प भयो। त्यसबीचमा उनले के–के मात्र गर्नुपरेन ∕ ‘त्यो क्षण सपना थियो कि विपना, अहिले पनि कस्तो–कस्तो लाग्छ,’ टर्किसका २० हजार कर्मचारीमध्येकी रेसुले भनिन्।

विमानस्थलको रनवेको ठ्याक्कै बाहिर धसिएको जहाजलाई निकाल्न रेसुले कतार एयरसँग पाङ्ग्रा मागिन्, नेपाल एयरलाइन्सका इन्जिनियर ल्याइन्, विमानस्थल विस्तारको ठेक्कामा आबद्ध भएको स्पेनिस कम्पनी सानजोसेबाट लरी र कुल्ली लिइन्। यतिले पनि पुगेन।

त्यसताका काठमाडौंमा रहेका अन्य विदेशी एयरलाइन्सहरूबाट रेसुले मद्दत मागिन्। अधिकांशले आ–आफ्नै ठाउँबाट सघाए पनि। तर जहाज खाल्डाबाट निकाल्न नेपालमा भएको प्रविधि र प्राविधिकहरूले नसक्ने भएपछि परराष्ट्रमार्फत भारतबाट इन्डियन एयरफोर्सको विमान झिकाइयो।

त्यो विमानले काठमाडौंमा ल्याएका प्राविधिकको बन्दोबस्ती सबै रेसुको जिम्मामा थियो। ‘८० लाखको बिल त होटलकै आएको थियो,’ असनमा जन्मेर वनस्थलीमा हुर्केकी रेसुले भनिन्, ‘पछि भारतीय दूतावासमार्फत इन्डियन एयरफोर्सको ३ लाख डलरको बिल मैले नै क्लियरेन्सका लागि हेडक्वार्टर पठाएँ।’

यतिमात्रै होइन, नेपाल एयरलाइन्सले पनि आफ्ना उपकरण र प्राविधिकहरूको ज्यालाको २ करोड बढीको बिल रेसुलाई नै भुक्तानीका लागि थमायो। बुम र ट्रस्ट दिने बुद्ध एयरदेखि लरी दिने स्पेनिस कम्पनी सानजोसेको १ करोड ७९ लाखको बिल पनि रेसुकै इमेलमा पुगे। यी सबैलाई व्यवस्थापन गर्नेदेखि लिएर बिग्रेको विमानको दैनिक ५० हजार रुपैयाँ हाराहारी पार्किङको रकम तिर्ने कार्यमा रेसुकै संलग्नता रह्यो।

त्यो दुर्घटना नकारात्मक थियो, तर एउटा अविस्मरणीय लर्निङ पनि बन्यो,’ केही समयअघि रेसुले विमानस्थलमा रहेको स्टेसन अफिसमा भनिन्, ‘अब म कुनै कलेज वा एभिएसनका विद्यार्थीलाई उडानमा हुने विपत्लाई कसरी व्यवस्थापन गर्नेबारे आफ्नो सिकाइ सेयर गर्न सक्ने भएकी छु।’

अहिले रेसुको प्रमोसन भएको छ। उनी स्टेसन म्यानेजर हुन्। मासिक पारिश्रमिक पनि ६ अंक हाराहारीमै छ। हालसम्म वैवाहिक जीवनमा नबाँधिएकी उनीसँग एयरपोर्टमा ५ जना स्पोर्टिङ स्टाफको टिम छ।

हरेक दिन जहाजको काम सकिएपछि उनी दरबारमार्गस्थित हेड अफिसमा पुग्छिन्। झन्डै डेढ वर्षपछि टर्किसको त्यो दुर्घटनामा परेको विमान केही करोड रुपैयाँमा धनगढीको वेद उप्रेती ट्रस्टले खरिद गरिसकेको छ। अर्थात् अब यो विमानको व्यवस्थापनमा पनि रेसुकै संलग्नता थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com