सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउन आउने भारतीय र नेपाली पर्यटकको भिड


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

पुस १७, चितवन। पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् ।

यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए ।

“करिब करिब १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।”

आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् ।

बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् ।

सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक गएराति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए ।

रामचन्द्र काफ्ले, जुनु रिजाल, डिवी लोप्चनलगायतले गीत गाएर मनोरञ्जन गराएका थिए ।

गएराति सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठूला होटल आफैँले पनि सांगीतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले पुस ११ गतेदेखि शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतबार भने पर्यटक नयाँ वर्ष मनाउन सौराहामा बढी पर्यटक आएको बताए ।

सौराहामा यसपालि नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रमसमेत राखिएको थियो । पर्यटकले कार्यक्रममा भरपुर मनोरञ्जन लिए ।

सौराहाका पर्यटन व्यवसायी तथा चितवन भिलेज रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले नयाँ वर्षमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको बताए ।

काठमाडौँबाट अंग्रेजी नयाँ वर्ष मनाउन आएका प्रणव सुवेदीले यसपटक सौराहामा साह्रै रमाइलो भएको प्रतिक्रिया दिए ।

मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।
रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com