आवरणभित्रको व्यथा


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

‘उनीहरू प्रत्येक रात बलात्कृत हुन्छन्’

म जन्मिदा छोरा हो । अरु केटा मान्छे जसरी हुर्काइन्छन्, त्यसरी नै म पनि हुर्किए । १२-१३ वर्षको हुँदासम्म ममा कुनै खालको परिवर्तनको महसुस भएको थिएन । तर बिस्तारै मेरो शरीर केटाको जस्तै भएर विकास भइरहँदा मन भने केटीको जस्तै हुन थाल्यो । केटीको जस्तै मेकअप गर्न मन लाग्ने, कपडा लगाउन मन लाग्ने हुन थाल्यो । किन म अरुको भन्दा फरक छु । मनमा कैयौं प्रश्न थिए । यसरी नै मैले समाजसँग आफूलाई २९ वर्ष सम्म लुकाए । अर्थात छोरा भएरै बाँचे । समाजका लागि म केटा नै थिए । तर मेरो लागि भने म केटी । मेरा इच्छा, चाहाना र रहरहरू सबै केटी जस्तै ।


मेरो भौतिक शरीर केटा हुँदा पनि केटी जस्तै आनिबानी र चाहाना । केटा भएर केटीप्रति प्रेम बढ्नु, आकर्षण बढ्नुको सट्टा केटाप्रति आकर्षण हुने, लाज लाग्ने, राम्रो केटा देख्दा गाला रातो हुन्थ्यो । केटीसँग धेरै मिल्ने हुँदा साथीबाटै दुव्र्यहार पनि खेपे । केटाहरूले मलाई छक्का, हिजडा जस्ता कुराले सम्बोधन गर्थे । जुन ठाउँबाट म हिड्थे, मेरो बोली, हिडाई र हाउभाउ देखेर सबैले मलाई आश्चर्यचकित भएर हेर्थे । गाडीमा चड्दा यो छक्काका लागि चड्ने गाडी होइन भन्थे । मनमा धेरै पीडा र चोट गुम्सिएका थिए । तर म को हुँ, मलाई यस्तो किन हुन्छ ? म यस्तो हुनु कतै कुनै रोग त होइन भन्ने थुप्रै प्रश्न म भित्र अनुत्तरित थिए ।

आफैभित्र अन्तरद्वन्द्व हुन्थ्यो । मैले आफूलाई बुझ्न सकिराखेको थिइन । मलाई केटी मान्छेसँग किन आकर्षण हुन्न, किन केटीसँग नजिक हुन मन लाग्दैन, किन केटा मान्छे नै मन पर्छ ? यस्ता खाले प्रश्नले बारम्बार घोचिरहन्थे । म आफ्नो पहिचान बारे अस्पष्ट थिए । मैले आफूलाई चिन्नै नसकेको बेला मेरो भेट सुनील (सुनील बाबु पन्त) दाईसँग भयो । म त्यतीखेर २२ वर्षको थिए । त्यसपछि बिस्तारै आफूभित्र गुम्सिएका प्रश्नको उत्तर सहजै पाउन थाले ।

२२ वर्षदेखि २९ वर्षसम्मको बिचको समय मैले कती आँट गर्दा पनि समाजमा मेरो पहिचान खुलाउन सकिन । भित्रभित्रै म केटी भएर आफ्ना इच्छा पुरा गर्थे भने समाजमा केटा । म सानै छँदादेखि नै मेरो विवाह फुपुको छोरीसँग हुने कुरा थियो । जब म एसएलसी पास भए विवाहको कुरा हुन थाल्यो । मलाई एकदमै अप्ठेरो महसुस हुन्थ्यो त्यस समयमा । बिस्तारै परिवारबाट विवाहका लागि दबाब हुन थाल्यो र मैले सोचे अब म को हुँ भन्ने कुरा सबैलाई भन्ने समय आएको छ । मैले भन्नै पर्छ मेरो बारेमा भनेर ।
मैले बिस्तारै आफूलाई केटीमा रुपान्तरण गर्न थाले । एकदिन मैले सम्पूर्णरुपमा आफूलाई केटीको रुपमा ढाले र घरबाट बाहिर निस्कन गेटसम्म पुगे तर गेटबाट पाइला अगाडि बढेन । म फेरि पछाडि फर्के । फेरि मैले आँट गरे त्यो दिन घरबाट निस्के र पाइला अगाडि बढाए, जुन आजसम्म निरन्तर चलिरहेका छन् ।

मेरो शरीर केटा मान्छेको जस्तो भए पनि म केटी हुँ । मेरो चाहाना केटीसँग होइन, केटासँग छ भन्ने कुरा परिवारलाई भनेपछि परिवारबाट सहयोग पाए । परिवारबाट कहिले केही नकारात्मक टिकाटिप्पणी भएन । समाजले भने मेरो बारेमा नराम्रा कुराहरू घरमा बुबालाई सुनाउँदा रहेछन् । साँझ घरमा आउँदा बुबाले सुनाउनुहुन्थ्यो । फलानोले तेरो बारे यस्तो भने भनेर । म बुबालाई सम्झाउँथे । मलाई अहिले मेरो घर, आफन्त र समाजले पनि स्वीकार गरेको छ । खुसी छु म मेरो परिवार र जीवनसँग ।

नागरिकता बनाउँदा तेस्रोलिंगी भएको प्रमाण खोजिन्छ

मेरो नागरिकतामा नाम सन्जिव गुरुङ नै छ । नागरिकतामा लिंग पुरुष थियो । जब मैले आफूले आफूलाई चिने । म पुरुष नभई महिला भएको बुझें । अनि नागरिकतामा लिंग परिवर्तन गर्न लगाए । दुई वर्ष जती हुन थाल्यो नागरिकतामा लिंग पुरुषको सट्टा ‘अन्य’ थपिएको । नागरिकतामा लिंग परिवर्तन गरे पनि जिल्ला प्रशासनले नाम परिवर्तन गर्न मानेन । म सन्जिवको सट्टा पिंकी नाम राख्न चाहन्छु । तर नागरिकतामा पहिले जस्तो नाम छ, त्यो परिवर्तन गर्न जिल्ला प्रशासनलाई अधिकार नभएको हुँदा जिल्ला प्रशासनले मानेन । त्यसपछि समलिंगी तेस्रोलिंगीहरूको नाम र पहिचान अनुसार लिंग परिवर्तन गर्न चाहेमा गर्न पाउनुपर्छ भनेर सन्जिव नाम परिवर्तनका लागि सन् २०१३ मा सर्वोच्च अदालतमा रिट हालेका थियौं । सर्वोच्चले फैसला गरेर सरकारले निर्देशिका जारी पनि गरेको थियो । तर सरकारी निकायबाट सहजरुपमा नागरिकता पाउन सकिरहेका छैनौं ।

हाम्रा साथीहरू नागरिकता बनाउँन जिल्ला प्रशासन जान्छन् । त्यहाँ उनीहरूलाई अनावश्यक प्रश्न सोधिन्छ । तिमी तेस्रोलिंगी हो भने मेडिकल प्रमाण पत्र लिएर आऊ, तेस्रोलिंगी भएको प्रमाणहरू जुटाऊ, तिम्रो अंग देखाऊ जस्ता अनावश्यक कुराहरू गरिन्छ । यस्ता कुराले गर्दा सहजै पहिचान अनुसारको नागरिकता पाउन सकिराखेका छैनन् । र नाम परिवर्तन पनि गर्न सकिराखेका छैनन् ।

समलिंगी, तेस्रोलिंगीहरूको हक हितका लागि काम गर्दै आइरहेको संस्था निल हिरा समाजबाट समलिंगी, तेस्रोलिंगीहरूले पुरानो नागरिकता सच्याएर पहिचान अनुसार आफूले चाहेको नाम र लिंग अनुसार नागरिकता पाउनुपर्छ भनेर सुनील बाबु पन्त, आनिक रानामगर र म पिंकी गुरुङ्गको नामबाट रिट हालेका थियौं । सर्वोच्च अदालतले समलिंगी, तेस्रोलिंगीहरूले चाहे अनुसारको नाम र लिंग अनुसार नागरिकता दिनु भनेर आदेश दिएको थियो । तर ६ महिना बितिसक्दा पनि गृह मन्त्रालयले निर्देशिका जारी गरिसकेको छैन । जसले गर्दा नागरिकता सच्याएर आफ्नो पहिचान अनुसारको नागरिकता लिन चाहने व्यक्तिहरूलाई समस्या भएको छ ।

बैवाहिक अधिकारबाट वञ्चित

राज्यले पहिचानको अधिकार दियो । तर बैवाहिक पहिचान दिएन । ‘अन्य’ भनेर अधिकार त दियो तर त्यही अन्यबाट पाउने अधिकारबाट वञ्चित छौं हामी । पहिचानको अधिकारलाई पूर्णता दिनका लागि समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्दछ ।

नेपालको कानुनमा पुरुषले पुरुषलाई बलात्कार गर्छ भने त्यसमा कानुनी कारवाही छैन । परिवार समाजको दबाबका कारण उनीहरू विपरीत लिंगीसँग विवाह गर्न बाध्य छन् । जसले गर्दा आफ्नो इच्छा विपरीत उनीहरू शारीरिक सम्बन्ध राख्न बाध्य छन् । उनीहरू हरेक रात बलात्कृत भएका छन् । समलिंगी विवाहलाई मान्यता दिएमा यस्ता समस्या आउँदैनन् र हामीलाई कानुनी उपचार खोज्न पनि सहज हुन्छ । बैवाहिक बलात्कारको कानुन त छ । तर हाम्रो लागि छैन । विपरित लिंगी जोडीहरूका लागि मात्रै छ । कानुनै छैन भने हामी केको आधारमा समाज र परिवारसँग लड्नु । अधिकार कानुनमै चाहेको हौं । कुनै दुई व्यक्ति बिचमा विवाह गर्न पाउने भन्ने उल्लेख हुनुपर्दछ । यसबाट नेपालमा ९ लाखको संख्यामा रहेका तेस्रोलिंगीको समस्या समाधान हुन्छ ।

 प्रतिवेदन मन्त्रालयमा अड्कियो

हामीले समलिंगी विवाह बारे महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा प्रतिवेदन बुझाएका थियौं । २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेशमा समलिंगी विवाहलाई मान्यता दिनका लागि सात सदस्यीय समिति गठन गरेर दिनुपर्ने थियो । त्यो प्रतिवेदन तयार भएर सरकारलाई दिइसकेका छौं । तर मन्त्रालयमा अड्किएको छ । प्रक्रिया अगाडि बढेको छैन । यसबारे अहिले पनि कानुन मन्त्रालय र महिला मन्त्रालयसँग वकालत गरिरहेका छौं ।
समस्या नै समस्या

तेस्रोलिंगीहरूलाई समाजमा बाँच्न कठिन छ । राज्यले निम्न भन्दा पनि निम्न अधिकारबाट बन्चित गरेको छ । जसले गर्दा खुलेर आउन चाहाने व्यक्ति समेत समाजले बहिस्कार गर्ने, जागिरबाट निकालिने र सम्पतीबाट बेदखल हुने डर छ ।
एचआईभी र यौन रोगको समस्या, मानसिक तनाव, विपरीत लिंगीसँग विवाह गर्नुपर्ने बाध्यता, सम्बन्ध विच्छेद हुने, आत्महत्या गर्ने, कुलतमा फस्ने जस्ता समस्या देखिएका छन् । राज्यले समलिंगी विवाहलाई मान्यता दिने र उनीहरूको अधिकार सुनिश्चित गर्न सके हाम्रा समस्या समाधान हुन्छन् ।

परिवारवाटै पीडित

समलिंगी तेस्रोलिंगीहरू सुरुमा आफ्नै परिवारबाट पीडित हुने गरेका छन् । त्यसपछि समाज । अनि राज्य । घर र समाजले तिरस्कार गर्ने डरले उनीहरू आफ्नो पहिचान खोज्नबाट बञ्चित छन् । राज्यले तेस्रोलिंगीलाई समावेश गरेर लैजाने खालको कुनै कार्यक्रम ल्याउन सकेको छैन ।

प्रस्तुतिः खेमा बस्नेत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com