दाहालको सहयोगमा सम्झनाले पाइन नयाँ जीवन


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् ।

ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् ।

हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएकी अभियन्ता सापकोटालाई केही समयअघि उक्त रोग लागेर पीडित बन्नुभएको थियो । शुरुमा हेटौँडा र चितवनमा उपचार गराए पनि रोग निको नभएपछि समाजसेवी दाहालको पहलमा नर्भिक अस्पतालले उनलाई निःशुल्क उपचार गरेको हो ।

अहिले उनी १४ दिनको उपचारपछि पूर्णरुपमा निको भएर आश्रम फर्केकी छिन् । उक्त रोगको उपचार सेवा अत्यन्त महँगो पर्ने गरेको छ । अस्पतालले सापकोटाको उपचारमा करिब रु १४ लाख खर्च गरेको अस्पतालकी निर्देशक मेघा चौधरीले जानकारी दिनुभयो । यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, शरीर सुन्निने, रिँगटा लाग्ने लक्षण देखिने केही समयमै मिर्गौला र कलेजोले काम नगरी बिरामीको मृत्यु हुने अस्पतालले जनाएको छ । यो रोग लाखौँमा कसैकसैमा मात्र देखिने अस्पतालले जनाएको छ ।

रोग निको भएर अस्पतालबाट डिस्चार्ज भएकी सापकोटाले भन्नुभयो, “मेरो आफ्नो प्रयासबाट उपचार गर्न सम्भव थिएन, निर्देशक चौधरी र समाजसेवी दाहाल मेरो लागि भगवान् जस्तै हुनुभयो, अबको बाँकी दिन समाजसेवामै बिताउँछु ।” शुरुमा सापकोटालाई आश्रमले नै करिब रु दुई लाखजति हेटौँडा र चितवनमा उपचारका क्रममा खर्च बेहोरेको भए पनि काठमाडौँ ल्याएपछि उपचार खर्च महँगो पर्ने भएपछि उपचार खर्च बेहोर्न नसकेको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारले जानकारी दिनुभयो ।

यसअघि पनि दाहालको पलहमा अस्पतालले विभिन्न व्यक्तिको निःशुल्क उपचार गरिसकेको बताउँदै निर्देशक चौधरीले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

केही दिनअघि पनि दाहालले वीर अस्पतालको शय्यामा उपचार खर्च नभएर छटपटाइरहेका एक बिरामीको उद्धार गरी नर्भिक पु¥याई निःशुल्क उपचार गराउनुभएको थियो । उपचारपछि मदन नाम बताउने उनलाई परिवार नभेटिञ्जेल मानव सेवा आश्रमले लालनपालन गर्ने जिम्माका साथ राखेको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com