अब एक साताभित्रै संविधान संशोधन


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

प्रधानमन्त्री प्रचण्डले एक साताभित्र संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गर्ने गरी मधेस केन्द्रित दलसँग कुराकानी थालेका छन् । निर्वाचनलगायत संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउन समय घकिँदै गएकाले प्रचण्डले सहमति प्रयासलाई तीव्रता दिएका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुने गरी सीमाकंन हेरफेर माग्दै आएकामा प्रचण्डले विवादित पाँच जिल्लालाई उच्चस्तरीय राजनीतिक संयन्त्र वा सीमाकंन पुनरावलोकन आयोगमार्फत टुंग्याउन सकिने विकल्पसहित मोर्चासँग वार्ता थालेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा मधेश केन्द्रित दलहरूसँग भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव अगाडि बढाउन लागेको सत्तारूढ दलका नेताले बताए । सीमाङ्कनमा सामान्य हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसदमा लैजाने तयारी भएको बताए । संविधान संशोधनको विषयमा औपचारिक छलफल शुरु भएको छैन । मधेश आन्दोलनका क्रममा मुद्दा लागेर थुनामा रहेका र घाइतेको उपचारको विषयमा कार्यदलमा छलफल भइरहेको छ ।

संसदमा वर्तमान गठबन्धनको दुईतिहाइ बहुमत नरहेका कारण संविधान संशोधन पारित गर्न नेकपा एमाले वा गठबन्धनबाहिरका अन्य दलसँग सहमति गर्नुपर्ने बाध्यता छ । संविधान संशोधनका लागि संसदमा बहाल ५ सय ९५ को दुईतिहाइ अर्थात् ३ सय ९८ मत आवश्यक पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com