राजधानीको तातातानले तातियो पूर्व : विराटनगर, इटहरी र धनकुटाको यस्तो छ दाबी


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

प्रदेशसभा गठन अन्तिम चरणमा पुगेसँगै राजधानी कहाँ बनाउने भन्ने विषय देशको पूर्वी क्षेत्रमा पर्ने प्रदेश नम्बर १ मा निकै चर्चामा छ। पूर्वको प्रशाकीय केन्द्रको रुपमा रहेको धनकुटामा चरणबद्ध आन्दोलन सुरु भएको छ। धरान, इटहरी उपमहानगरपालिका र विराटनगर महानगरपालिकामा पनि राजधानी बनाउनुपर्ने बहस छ।

मोरङको सुन्दर हरैंचा नगरपालिकाले भने पूर्वाञ्चल विश्वविद्यालयको जग्गामा राजधानी बनाउनुपर्ने भन्दै जग्गा हस्तान्तरणको निर्णय नै गरिसकेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा भने राजधानीको विषयमा मौन देखिएको छ। विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले पटकपटक प्रधानमन्त्रीलाई भेटेर राजधानी विराटनगर बनाउन पहल गरेका छन्। विराटनगर आसपासका प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सांसदले प्रशासन कार्यालयमार्फत सरकारलाई राजधानी विराटनगर बनाउनुपर्ने विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। आर्थिक हिसाबले राजधानीपछिको सहरको रुपमा परिचित विराटनगरलाई राजधानी बनाउनुपर्ने विषयमा विराटगरबासी दाबी गरिरहेका छन्। उदाउँदो सहरको रुपमा रहेको, सुन्दर, स्वच्छ र सफा रहेको इटहरी पूर्वको केन्द्रबिन्दु बन्ने क्षमता रहेको त्यहाँको दाबी छ।

यस्तै धनकुटा पूर्वाञ्चलको प्रशासनिक केन्द्रको रुपमा रहेको दाबी गर्दै त्यहाँ पनि आन्दोलन भइरहेकै छ। इटहरीमा त्यहाँका वुद्धिजीविहरुको संयुक्त भेलामा राजधानी बन्नुपर्ने आधार र कारणसहितका प्रतिवेदन निर्माण गरिएका समाचार सार्वजनिक भइरहेका छन्। निर्वाचन सकिएलगत्तै विराटनगरका प्रमुख पराजुलीसहितका व्यक्तिहरु प्रधानमन्त्रीलाई भेट्न गएर राजधानी माग गरेको समाचार ताजै छ। यस कारण पनि १ नम्बर प्रदेशको राजधानी बनाउने विषयमा पूर्व तातिएको छ। ‘सबै हिसाबले विराटनगरलाई राजधानी बनाउनु उपयुक्त छ,’ विराटनगरका प्रमुख भीम पराजुलीले भने, ‘विराटनगर बाहेकका सहरसँग राजधानी बनाउने क्षमता र आधार देखिँदैन।’ ‘अहिलेको सरकारलाई अस्थायी राजधानी तोक्ने अधिकार रहे पनि स्थायी राजधानी तय गर्ने जिम्मा प्रदेशसभालाई छ। प्रदेशसभाले नै राजधानी तथा प्रदेशको नाम राख्ने अधिकार राख्दछ,’ नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले भने, ‘सबैले राजधानी आफ्नै ठाउँमा हुनुपर्छ भन्नु अन्यथा हुँदैन।’ धनकुटालाई राजधानी बन्न योग्य रहेको त्यहाँका अभियानकर्मी कविराज घिमिरेको तर्क छ।

‘धनकुटामा ३ सय ९१ वटा सरकारी भवन रहेका छन् यहाँ प्रदेशको राजधानी कायम गर्दा तत्कालको लागि सबै मन्त्रालयलाई पुग्दो सरकारी भवनहरुको पूर्वाधार निर्माण भएका छन्,’ घिमिरेले भने, ‘प्याराफिटसमेत रहेको र करिब पच्चीस हजार जना अट्ने क्षमता भएको टुँडिखेल धनकुटाको मुटुमा रहेको छ। करिब ४ सय जनासम्म अट्ने सभाहल (सामुदायिक भवन) र प्रायः सबै कार्यालयहरुको आफ्नो सभाहल रहेको छ।’ इटहरी र विराटनगर डुवानले समस्याग्रस्त रहेका कारण पनि त्यहाँ राजधानी बनाउनु नहुने घिमिरेको तर्क छ।

यता, इटहरी राजधानी बनाउनका लागि पहल गरिरहेका सञ्जय खड्काको तर्क अर्कै छ। ‘पुराना र स्थापित शहरलाई राजधानी बनाउँदा जिर्णावास्थामा रहेका पूर्वाधारहरूका कारण केही खर्च त कम होला तर यसले नयाँ शहरको रचना गर्ने अवसरलाई कुण्ठित गर्नेछ,’ खड्काले भने, ‘शहरीकरणको सम्भावनालाई कुण्ठित गर्छ, खुम्च्याउँछ। हामीले कल्पना गरेको, परिकल्पना गरेको नयाँ नेपाल निर्माण तब मात्र साकार हुनसक्छ जब हामी नयाँ शहरहरू निमार्ण गर्छौं, जब हामी नयाँ आधुनिक, सुन्दर र नमूना शहर निमार्ण गर्छौं ।’ धरानका अभियानकर्मी अइन्द्रविक्रम बेघाले राजधानीका लागि धरानमात्रै एक विकल्प भएको दाबी गरेका छन्।

‘धरानको मुख्य पहिचान भनेकै जातीय सद्भाव हो, धरान जातीय हिसाबले पनि साझा मनोविज्ञानको रुपमा रहेको छ,’ बेघाले भने, ‘सोलुदेखि झापासम्म, मोरङदेखि ताप्लेजुङसम्मका जनतालाई यातायात र अन्य सुगमता प्रदान गर्न सकिन्छ, धरान डुवानमुक्त क्षेत्र पनि हो।’ माथिका जे–जस्ता तर्क, बहस र दाबी भइरहे पनि अहिले राजधानीको नामले पूर्वका सहर तातेका छन्। यहाँको प्रदेशसभाले कहिले र कसरी यो कामको छिनोफानो गर्छन् सबैको चासो छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com