छाती बाहिर मुटु निस्केको शिशुको सफल शल्यक्रिया


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मंसिर २७, बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा मुटु छातिबाहिर एक शिशुको शल्यक्रिया गरी मुटुलाई छातिभित्र राखिएको छ । शल्यक्रिया सफल भएपछि शिशु बाँचेकी छन् ।
तीन साताअघि जन्मिएकी भेनेलोप होप विल्किन्सको ब्रेस्ट बोन समेत छैन । उनी सिजेरियन गरी जन्मिएकी थिइन् ।
बाहिर निस्केको मुटु छातिभित्र राख्न यो समेत तीनपल्ट शल्यक्रिया गरिएको छ ।
यसरी मुटु छातीबाहिर हुने स्थितिलाई ‘एक्टोपिया कर्डिस’ भनिन्छ । यस्तो केस १० लाख शिशुमध्ये एक जनामा हुन सक्छ । मुटु छातीबाहिर भएका अधिकांश शिशु जन्मनुअघि नै मृत भइसकेका हुन्छन् ।
अस्पतालले यसअघि बेलायतमा जन्मेका यस्ता कुनै पनि शिशु नबाँचेको जानकारी पनि दिएको छ ।
नटिङघममा बस्ने शिशुका बाबुआमा ३१ वर्षीया नाओमी फिन्डले र ४३ बर्से डिन विल्किन्सले छोरी भ्यानेलोप वास्तवमै ‘बाँच्नका लागि बहादुरीपूर्वक जीवनयुद्ध’ गरिरहेकी बताएका छन् ।
‘अल्ट्रासाउन्ड गर्दा उनको मुटु छातीबाहिर देख्दा नै म तर्सिएकी थिएँ’, नाओमीले भनिन्, ‘यो डरलाग्दो थियोे र त्यस्तो पनि हुनसक्छ भनेर हामीलाई कुनै जानकारी थिएन ।’
रगत परीक्षण गराउँदा कुनै पनि वंशाणुगत खराबी वा ‘क्रोमोजोम एब्नर्मालिटिज’ नदेखिएपछि उनीहरूले सन्तान पाउने नै निर्णय लिएका थिए ।
‘पछि भने हामीलाई गर्भपात गराउन सल्लाह दिइएको थियो,’ डिनले भने, ‘साथै यस्तो अवस्थामा छोरी बाँच्ने सम्भावना छैन पनि बताएको थियो । हामीलाई बाहेक अरु कसैले पनि उनी बाँच्छिन् भन्ने विश्वासै थिएन ।’
भ्यानेलोप क्रिसमसको पूर्वसन्ध्यामा जन्मने अपेक्षा गरिए पनि २२ नोभेम्बरम सिजेरियनबाट जन्मेकी थिइन् । उनको मुटुलाई क्षतिग्रस्त र संक्रमण हुनबाट जोगाउन सिजेरियन गरि जन्माइएको थियो ।
प्रसूति विशेषज्ञ, मुटु सर्जन, एनेस्थेटिस्ट्स, नवजात विशेषज्ञ र नर्ससहित करिब ५० जनाको समूहले उनलाई सिजेरियनबाट जन्म दिलाएका थिए ।
सिजेरियनबाट जन्मेको करिब ५० मिनेटभित्रै उनको मुटु छातिभित्र राख्ने क्रममा पहिलो शल्यक्रिया गरिएको थियो ।
त्यसपछि गरिएको दोस्रो शल्यक्रियामा भ्यानेलोपको शरीरको छाला निकाली छातिको प्वाल छोपिएको थियो ।
‘उनी जन्मनुअघि उनको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो,’ वरिष्ठ बालमुटुरोग विशेषज्ञ फ्रान्सिस बुलकले भने, ‘तर अहिले भने स्थिति फरक छ– भ्यानेलोपको स्वास्थ्य राम्रो छ र उनी यो सबै थेग्ने निकै सशक्त देखिएकी छन् ।’
उनले पछि मुटुको सुरक्षाका लागि भ्यानेलोपको छातिमा हाड हालिने पनि बताए । यस्तो हाड उनको शारीरिक वृद्धिसँगै बढ्ने गरी थ्रिडी प्रिन्टिङ वा केही अग्र्यानिक पदार्थको हुने पनि बुलकले बताए ।
जन्मदा छातीबाहिर मुटु भएका केही बालबालिका अमेरिकामा पनि जीवित छन् ।
तीमध्ये सन् २०१२ अक्टोबरमा टेक्सासमा जन्मेकी अड्रिना कार्डिनास पनि एक हुन् ।
उनको पनि शल्यक्रिया गरी छातीभित्र मुटु हालिएको थियो र तीन महिनापछि डिस्चार्ज गरिएको थियो ।
अड्रिनालाई छातीको सुरक्षाका लागि प्लास्टिकको कवच दिइएको थियो ।
भ्यानेलोपले अझै धेरै समस्या सामना गर्नुपर्ने र तीमध्ये प्रमुख समस्या संक्रमण भएको ग्लेनफिल्ड अस्पतालले जनाएको छ ।
सफल शल्यक्रियापछि अब अर्को चरणमा उनलाई भेन्टिलेटरबाट झिकिनेछ । अहिले शल्यक्रियापछि स्वास्थ्यमा छिटो सुधार ल्याउन भेन्टिलेटरमा राखिएको थियो ।
भ्यानेलोपका बाबु डिनका अनुसार उनले प्रतिकूल परिस्थितिलाई चुनौती दिइरहेकी छन् । उनी भन्छन्, ‘यो महान चमत्कार हो ।’
डिन दम्पतीले वाल्ट डिज्नीको फिल्म ‘रेक–इट राल्फ’को एउटा चरित्रका आधारमा नै छोरीको नाम भ्यानेलोप राखेका थिए ।
फिल्ममा एउटी बहादुर लडाकु भ्यानेलोप अन्त्यमा एउटी राजकुमारी भएको पत्ता लाग्छ र छोरीका लागि उनको नाम उपयुक्त हुने ठानेर भ्यानेलोप नाम राखेको नाओमीले बताइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com