ट्रकको ठक्करबाट अमेरिकामा ज्यान गुमाउने नेपाली मुलका ३ जनाको परिवारलाई सहयोगको अपिल


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

अमेरिकाको टेक्सासमा दुर्घटनामा ज्यान गुमाउने ३ जनाको परिवारका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ । १० हजार डलर संकलनको लक्ष्य सहित गोफण्डमीमा सहयोग संकलन अभियान सुरु गरिएको हो । आइतवार राती भएको दुर्घटनामा चार महिनाकी बालिका समेत नेपाली मुलका तीनजनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा भएको दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको हो । एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे २८७ नजिकैको ब्लु माउण्ड रोडमा ठक्कर दिएको थियो । गाडीको चालक डम्बर सहित अघिल्लो सिटमा रहेकी पवित्राको घटनास्थलमै निधन भएको थियो । गम्भीर घाइते भएकी बालिकाको भने उपचारको क्रममा कुक चिल्ड्रेन हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।

कामी परिवार नेपालको झापामा रहेको भुटानी शरणार्थी शिविरबाट अमेरिकामा बसाइसराइ गरेको थियो । उनी सन् २०१२ देखि टेक्सासमा बस्दै आएका थिए । सहयोगका लागि नेपाली समाज टेक्सासले अभियान संचालन गरेको हो । अभियान सुरु भएको ३ घण्टामा नै ५६ जनाले झण्डै १५ सय डलर सहयोग गरिसकेका छन् ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com