बम आक्रमणको प्रयासपछि न्युयोर्क दिनभर तनावग्रस्त, आक्रमणकारीको तस्वीर सार्वजनिक


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

न्युयोर्कको टाइम्स स्क्वारमा बम आक्रमणको प्रयास भएपछि सोमबार त्यो क्षेत्र दिनभर तनावग्रस्त रह्यो । सम्भावित आत्मघाती हमलाकारीले आफ्नो शरिरमा बोकेको पाइप बम बिष्फोट गराउन खोजेपछि ट्रेन स्टेशनभित्र धुंवाले भरिएको गल्लीमा हजारौं यात्रुहरुको भागदौड मच्चियो । सयौं सुरक्षाकर्मीहरु टाइम्स स्क्वायर र आसपासका क्षेत्रमा भरिभराउ भए ।

आक्रमणकारीले आम नरसंहारको योजना सहित पाइप बम बिष्फोट गराउन खोजेपनि बम पूर्णरुपमा बिष्फोट हुन सकेन । बिष्फोटमा आक्रमणकारी २७ बर्षको बंगालादेशी नागरिक अकायद उल्लाह शख्त घाइते भयो । आक्रमणकारी सन् २०११ मा आप्रवासी भिसामा अमेरिकामा आएको जनाइएको छ । अमेरिकाले सिरिया लगायतका क्षेत्रमा आईसीसमाथी गरेको आक्रमणको प्रतिशोध स्वरुप आफूले बम बिष्फोटको योजना बनाएको उसले अनुसन्धानकर्ताहरुलाई बताएको छ ।

सेप्टेम्बर यताको न्युयोर्कमा भएको यो तेश्रो हमला हो । टाइम्स स्क्वायर र पोर्ट अथोरटी बस टर्मिनल जोड्न अण्डरपासमा भएको बिष्फोटले सोमबार विहान त्यसक्षेत्रमा धुँवा भरिएको थियो । आक्रमणकारीको पेट र हात जलेको बताइएको छ । उसलाई बेलभ्यु अस्पतालमा लगिएको थियो । घटनामा अरु तीनजना यात्रुहरु सामान्य घाइते भएका छन् ।

प्रहरीले आक्रमणकारीको तस्विर सार्वजनिक गरेको छ । अनुसन्धानकर्ताहरुले आक्रमणमा उल्लाह एक्लै सहभागी भएको विश्वास गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । आक्रमणकारी ओसन पार्कवेमा आफ्ना बाबुआमासहित बस्दै आएको थियो । सन् २००१ मा अमेरिकाको विश्व ब्यापारिक केन्द्रमा हमला भएयता न्युयोर्कमा मात्र २६ वटा आतंकबादी हमलाका प्रयास भएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com