नुवाकोटमा कांग्रेस नेता महत र केसीका परिवारै पराजित


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

२४ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०५१ सालदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको बिजय यात्रालाई हितबहादुरले रोकिदिएका छन् । महत नेपाली कांग्रेसका आर्थिक नीतिका भाष्कार हुन् ।

यसअघि ०६४ र ०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । तेस्रो प्रयासमा तामाङले महतलाई जिते ।

नुवाकोटमा चुनाव लड्ने ठाउँ नपाएर काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न आएका डा. रामशरण महतका भाइ प्रकाशशरण महत पनि पराजित भएका छन् ।

त्यस्तै कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका छन् । नारायण खतिवडा ३६ हजार ८९२  मत पाएर बिजयी हुँदा अर्जुन नरसिंह २६ हजार ३३५ मा रोकिए ।

नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । प्रदेशसभामा पनि महतका भतिजा रमेश महत र केसीका भाइ जगदीश्वरनरसिंह केसी भारी मतले पराजित भएका छन् ।

नुवाकोट १ को प्रदेशसभा क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका रमेश महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २१७ मत प्राप्त गरे । रमेश डा. रामशरणका भतिजा हुन् ।

उता नुवाकोट २ को प्रदेशसभा क बाट एमालेका केशव पाण्डे २० हजार ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा खबाट माओवादीका हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगत तामाङले १४ हजार ३ मत पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com