‘रविन्द्र मिश्रलाई हराउन’ प्रकाशमान र माधव नेपालवीच गोप्य साँठगाँठ ?
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, काठमाडौं । सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १ मा शुक्रबार राति साढे १० बज्दासम्म कांग्रेस नेता प्रकाशमान सिंहले रविन्द्र मिश्रलाई ८८७ मतले पछाडि पारेका छन् ।
अब करिब ८ हजार मत गन्न बाँकी छ । शनिबार बिहान उज्यालो हुँदानहुँदै अन्तिम नतिजा आइसक्ने सम्भावना छ ।
शुक्रबार राति साढे १० बजेसम्म २०७७५ मत गणना भइसकेको छ । यस क्षेत्रमा खसेको मत २८ हजार २८२ हो । यहाँ ४२४३० मतदाता थिए ।
कांग्रेस उम्मेदवार सिंहले ८३१२ मत पाएका छन् । उनलाई पछ्याइरहेका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ७४२५ मत पाएका छन् । उनीहरुवीचको मतान्तर ८८७ छ ।
तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ३६४९ मत पाएका छन् ।
मतदानको प्याटर्न
विहीबार मतदानस्थलमा भेटिएकी एकजना निर्वाचन आयोगकी कर्मचारीले काठमाडौं १ का मतदाताको प्याटर्नबारे सोध्दा यस्तो जवाफ दिएकी थिइन्– ‘नेवार समुदायको बढी भोट प्रकाशमानलाई गयो, क्षेत्रीबाहुनको भोट चाहिँ रविन्द्र मिश्र र अनिल शर्मावीच बाँडिएको देखियो ।’
आयोगकी ती कर्मचारीले गरेको विश्लेषणजस्तै गैरनेवार समुदायको भोट रविन्द्र मिश्र र अनिल शर्मावीच बाँडिएको देखिन्छ । तर, प्रकाशमानले पनि रविन्द्र मिश्रलाई एक हजारभन्दा बढी मतान्तर गराउन सकेका छैनन् ।
राति १० बजेतिर काठमाडौं ३१ को मतगणना भइरहँदा विवेकशील साझा पार्टीले आफ्नो पक्षमा केही मत खस्ने आश गरेको देखिन्छ । सो पार्टीका एक नेताले अनलाइनखबरसँग भने– ‘यो वडाको स्थानीय चुनाव एमालेले प्यानलै जितेको थियो । यहाँ वामपन्थी मत बढी छ । यो वडामा हामीले पनि मिहेनत र आश गरेको ठाउँ हो र मतदाता पनि यहाँ धेरै छन् ।’
साथै बानेश्वर बुथ अन्तरगत पर्ने सुकुम्वासीहरुको मत पनि गणना बाँकी रहेको स्रोतको भनाइ छ ।
सुकुम्बासीको मत वामपन्थी उम्मदेवार अनिल शर्मातिर गयो र कांग्रेसकबो भोट काटियो भने आफूूहरुलाई फाइदा पुग्ने विवेकशीलका एक नेताले अनलाइनखबरलाई सुनाए ।
उनले भने, ‘सुकुम्वासी टोलको भोट वामपन्थीले काटे भने हामीले जित्ने सम्भावना छ, अन्यथा अब रविन्द्र मिश्रजीले जित्न गाह्रो भयो ।’
प्रकाशमान र माधव नेपालले गोप्य साँठगाँठ गरेको आरोप
यसैवीच विवेकशील साझा पार्टीका एक नेताले अनलाइनखबरसँग भने– ‘रविन्द्र मिश्रलाई हराउन र हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन प्रकाशमानसिंह र माधव नेपालले गोप्य साँठगाउँ गरेको हामीलाई आभाष भएको छ ।’
दुई नेतावीचको गोप्य सहमति अनुसार क्षेत्र नम्बर १ का एमाले कार्यकर्ताले अनिल शर्मालाई भोट नदिएर प्रकाशमानलाई दिने अनि क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताले दीपक कुइँकेलको साटो माधव नेपाललाई मतदान गर्ने गोप्य सहमति भएको विवेकशील साझा पार्टीका एक नेताले दाबी गरे ।
नेता नेपाल र शर्मावीच भएको यही तालमेलका कारण अनिल शर्मा र दीपक कुइँकेलको मत सोचेको भन्दा थोरै खसेको विवेकशीलका नेताको दाबी छ ।
शुक्रबार राति साढे १० बजेसम्म अनिल शमा ३६४९ मत मात्रै पाएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले ३११० मत मात्रै पाएका छन् । कुइँकेल यसअघिका विजेता हुन् ।
त्यसो त प्रकाशमान सिंहले काठमाडौं उपत्यका अन्य क्षेत्रका कांग्रेस नेतालाई समेत हराउने भूमिका खेलेको गुनासो स्वयं कांग्रेसभित्रैका नेताहरुले गर्न थालेका छन् । जस्तै काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापालाई सिंहले असहयोग गरेको एक नेताले अनलाइनखबरलाई बताए ।
विवेकशील साझा पार्टीका नेताले दाबी गरेजस्तै प्रकाशमान र माधव नेपालवीच रविन्द्र मिश्र र दीपक कुइँकेललाई हराउन गोप्य सहमति भएकै थियो त ? यो चाहिँ अनुसन्धानकै विषय हो ।