ट्रम्पले गरे घोषणा :‘इजरायलको राजधानी जेरुसेलम’


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो अमेरिकी नीतिमा परिवर्तन गर्दै बिहीबार जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएका छन् । उनको घोषणासँगै मध्यपूर्वमा जारी शान्ति प्रयास खतरामा परेको सञ्चारमाध्यमले जनाएका छन् ।

 

ट्रम्पले उक्त निर्णयसँगै तेलअभिभको अमेरिकी दूतावास जेरुसेलममा सार्ने प्रक्रिया सुरु गर्ने घोषणा समेत गरेका छन् । उक्त निर्णयको विश्वव्यापी विरोध भएको छ । खासगरी अरब तथा मध्यपूर्वका अधिकांश देशहरू रुष्ट भएका छन् । ट्रम्पले गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा इजरायल समर्थित मतदातालाई गरेको वाचाअनुसार उक्त निर्णय लिएका हुन् । ‘जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने समय आएको छ,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै ट्रम्पले भने, ‘पूर्वराष्ट्रपतिहरूले यसलाई आफ्नो चुनावी अभियानको प्रमुख मुद्दा बनाए पनि निर्णय गर्न चुके । तर मैले गरेरै छाडेँ ।’
जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरोधमा रमल्लाहमा बिहीबार गरिएको विरोध प्रदर्शन ।

उनको निर्णयसँगै वेस्ट ब्यांक र गाजा स्ट्रिपमा रहेका प्यालेस्टाइनीहरू विरोध प्रदर्शनमा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाको गोली लागी कम्तीमा ३१ प्यालेस्टइनीहरू घाइते भएका छन् । उक्त क्षेत्रमा इजरायलले हजारौंको संख्यामा आफ्ना सुरक्षाकर्मीहरू परिचालन गरेको छ ।
जोर्डनको राजधानी अम्मानमा प्यालेस्टाइनी शरणार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको बेलायत, फ्रान्स, साउदी अरबलगायतका अमेरिकाका पुराना मित्र शक्तिले कडा शब्दमा विरोध जनाएका छन् । साउदी अरबले ट्रम्पको निर्णय ‘आधारहीन र गैरजिम्मेवार’ भएको बताएको छ ।
बेलायत र फ्रान्स उक्त निर्णयलाई ‘कुनै पनि हालतमा समर्थन नगर्ने’ बताएका छन् । फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोंले अमेरिकी निर्णयले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषदको निर्णयको गम्भीर उल्लंघन गरेका बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप यर्दोगानले ट्रम्पको आलोचना गर्दै मध्यपूर्वलाई ‘आगोको घेरामा’ फ्याँकेको बताए । टर्कीको राजधानी स्तानबुलस्थित अमेरिकी कूटनीतिक नियोग अगाडि हजारौंको संख्या प्रदर्शनकारीहरू भेला भएका छन् । त्यसैगरी, सिरिया, इराक, यमनलगायतका देशमा पनि विरोध प्रदर्शन सुरु भएको रोयटर्सले जनाएको छ । पाकिस्तानको कराँचीमा धार्मिक तथा राजनीतिक दल जमात ए इस्लामीका समर्थकले ट्रम्पको निर्णयको विरोध गर्दै इजरायली तथा अमेरिकी झन्डा जलाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने ट्रम्पको कदमको प्रशंसा गर्दै उनी जेरुसेलमको इतिहाससँग सधैंका लागि जोडिएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी राष्ट्रपतिको कदम ‘ऐतिहासिक’ भएको प्रतिक्रिया दिए ।
प्यालेस्टाइनमा इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको संगठन हमासले पनि ट्रम्पको निर्णयको विरोधमा आन्दोलनको घोषणा गरेको छ । हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै ‘इन्तिफादा’ भनिने नयाँ आन्दोलनको घोषणा गरेका गरे । उनले अमेरिकी ट्रम्पको निर्णयले ‘युद्धको घोषणा’ भएको बताए ।
प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासको विरोधी फतहले अमेरिकी कदम ‘भत्र्सना योग्य’ भन्दै विरोधमा राष्ट्रसंघीय सुरक्षा परिषद् र अरब लिगको समर्थन जुटाउने जनाएको छ । ‘अमेरिकी कुनै पनि शान्ति तथा राजनीतिक प्रक्रियाका लागि अयोग्य भएको हामी घोषणा गर्न चाहन्छांै,’ प्रवक्ता नसेर अल किडाले भने, ‘हाम्रो बुझाइमा अमेरिकाले यस मामिलामा आफ्नो क्षमता गुमाइसक्यो ।’ अरब लिगले यस विषयमा छलफल गर्न शनिबार आपतालीन बैठक डाकेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकचाहिँ शुक्रबार हुने अपेक्षा गरिएको छ ।
जेरुसेलम इजरायल र प्यालेस्टाइन दुवैका लागि निकै महत्त्वको क्षेत्र हो । यसको भविष्य नै इजरायल–अरब द्वन्द्वको प्रमुख मुद्दा हो । जेरुसेलममाथि कुनै पनि अन्तर्राष्ट्रिय समुदायले इजरायलको सार्वभौमिकता स्विकारेका छैनन् । त्यसैले सबै विदेशी दूतावास तेलअभिभमा छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com