चुनावमा २ लाख सुरक्षाकर्मी परिचालन, सीधै गोली हान्ने अधिकार


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

२१ मंसिर, काठमाडौं । ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।

चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी  र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।

निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चुनावमा कुनै घटना भइहालेमा कममा पााच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ ।

१ लाख ५५ हजार कर्मचारी खटिए

निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ । यी जिल्लाहरुमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com