नौ वर्ष ओढारमा बसेका आमाछोरीको उद्धार, भावुक बने छिमेकी, आँसु खसाइन् दयावतीले


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

-इन्दिरा भट्टराई-

विराटनगर । नौ बर्ष यता मोरङको कानेपोखरी ५ चिसाङ खोलाको पुल मुनी बसोवास गर्दै आएका आमाछोरीलाई उद्धार गरी विराटनगर ल्याइएको छ । महिला तथा वालवालिका कार्यालय मोरङ, ओरेक नेपाल, इन्सेक र सञ्चारकर्मीको सहकार्यमा उद्धार गरी सोमबार विराटनगर ल्याइएको हो ।

आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्षीया छोरी दयावतीलाई विराटनगरस्थित ओरेकको सेफ हाउसमा राखिएको छ । विभिन्न दाताहरूको सहयोगमा सोही गाउँमा घर बनाउने तयारी भइरहेकोले घर निर्माण पुरा नहुञ्जेल विराटनगरमा राखिने महिला तथा वालवालिका कार्यालय मोरङ प्रमुख दुर्गा बरालले जानकारी दिइन् ।

आमाछोरीलाई ओढारबाट सेफ हाउसतिर लगिदै ।

घर निर्माण नहुञ्जेलसम्मको लागि दुबैजनालाई खान, बस्न, लत्ताकपडाको व्यवस्था गर्ने ओरेक विराटनगर प्रमुख मौसम राइले बताइन् ।
आफ्नो घर नभएको उराव परिवार सुन्दरहरैचामा अर्काको जमिनमा बस्दै आएको थियो । तर दश बर्ष अधि श्रीमानको मृत्युपछी बेसहारा भएका आमाछोरीले ओतको रुपमा पुलमुनीको ओढार भेट्टाए । कुस्मी र अपाङगता भएकी (बोल्न नसक्ने) दयावतीको घर पुलमुनीको ओढार र पेसा सालको पात र निगुरो व्यापार भयो ।

दैनिक साथिहरूसँग जंगल जाने, पात र निगुरो टिपेर ल्याउने व्यापार गर्ने उनीहरूको दिनचर्या हो । त्यही आम्दानीबाट उनीहरूले छाक टार्दै आएका थिए । अपाङगता भएकी छोरीसँगै कष्टकर जीवन बिताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार छ, नत पानी विजुली नै ।
पतिको मृत्युपछि धेरै समय मागेरै आफ्नो जीवन विताएका उनीहरू त्यहा आएपछि भने पात र निगुरो टिपेर गुजारा गर्दै आएको छिमेकी दिलमाया राइले बताइन् ।

मोरङको कानेपोखरी ५ चिसाङ खोलाको पुल मुनी आमाछोरी बस्ने ओढार ।

कुस्मीसँग आफ्नो नागरीकता छ । तर छोरीको नागरीकता बनाउन सकेकी छैनन् । कानेपोखरी ५ का बडा अध्यक्ष चरण गुरुङले दाताको सहयोगमा महिला वालवालिका कार्यालय मोरङले घर बनाएपछि सम्पुर्ण व्यवस्था गरेर राखिने बताए ।

घर निर्माणका लागि सोही गाउँमा जमिनको व्यवस्था गरेर चाडै निर्माण कार्य सुरु गरिने समेत बडा अध्यक्ष गुरुङले बताए ।
पुलको छानोमै कठ्यांग्रिने चिसो र उखरमाउलो गर्मी झेल्दै आएका आमाछोरी सरकारी था गैर सरकारी निकायबाट सहयोग पाएपछि निकै खुसी भए ।

भावुक बने छिमेकी

विराटनगर ल्याउनका लागि टोली गाडी लिएर विहानै त्यहाँ पुग्दा आमाछोरी ओछ्यान मिलाउँदै खाने व्यवस्थापनमा लाग्न खोज्दै थिए । अब विराटनगर जाने र घर बनेपछि मात्र आउने भन्ने बुझेकी दयावतीले छिमेकी महिलाहरूलाई हातको इसाराले ‘म जाने राम्ररी बस्नु’ भनिन् ।

निकै खुसी मुद्रामा देखिएकी उनले आफ्नो लुगा कपडा र चप्पल तयार पारिन् । त्यहाँबाट विदा हुँदै गर्दा गाउँका सबैलाई हात हल्लाएर विदा मागिन् । उनको विदाईमा आएका गाउँले पनि निकै भावुक बने ।

धेरै बर्षसँगै बिताएका उनीहरू हिड्दा छिमेकी दिलमाया राइले ‘अब सुन्ने हुने भो, दुख पाएका थिए अब दिन फर्किए’ भनेर विदा गरिन् ।
गाउलेहरूसँग मिलेर बसेका आमाछोरीलाई गाउँलेहरूले धेरै सहयोग गरेका रहेछन् । वर्षातमा वाढी आउँदा समस्या हुने भएकोले उनीहरू गाउँलेकै घरमा वास बस्ने गर्दथे ।

गाडी चढेपछि रोइन दयावती

विराटनगर तर्फ आउन गाडी चढेपछि दयावतीले झ्यालबाट हात हल्लाइन् । गाउँले धनबहादुर राइले तिनसय रुपैया निकालेर चिया खानु भन्दै दिए । अनि अन्य गाउँलेले पनि पैसा दिए । त्यसबेला गाउँ छोड्नुपरेको भन्दै दयावती रोइन् । उनी आमाको टाउकोमा बाधेको रुमालले आखा छोपेर धेरैबेर रोइरहिन् ।

सबैले घर बनेपछि आउनु, हामी भेट्न आउँछौ भनेर विदा गरे । इमान्दार आमाछोरी भनेर चिनिएका उनीहरू हिड्नै लाग्दा कुस्मीले पसलको पाँच सय रुपैया उधारो सम्झिइन् । वडा अध्यक्ष गुरुङले उधारो तिरिदिने बचन दिएपछि उनी ढुक्क भइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com