राष्ट्रसंघका अधिकारीको ‘दुर्लभ’ कोरिया भ्रमण


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्दै छन्।

यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेको थियो।

गत साता उत्तर कोरियाले ‘हालसम्मकै सबैभन्दा शक्तिशाली’ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमण हुन लागेको हो।

दाबी

उत्तर कोरियाले गत साता परिक्षण गरेको उक्त बलिस्टिक क्षेप्यास्त्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्ने उसले दाबी गरेको छ।

कोरियाली प्रायोद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनको यो भ्रमण हुन लागेको हो।

पूर्व कूटनीतिज्ञ फेल्टमेन संयुक्त राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन्।

उनी शुक्रबारसम्म प्योङयाङमा हुनेछन्।

दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै ठूलो हवाइ अभ्यास गरिरहेका बेला उनको यो भ्रमण हुँदैछ।

उत्तर कोरियातस्वीर 

चासो

संयुक्त राष्ट्रसंघका प्रवक्ताले फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री रि योङ-हो सहित अन्य ८ उच्च वरिष्ठ अधिकारीहरुसँग भेट्ने र उनीहरुसँग द्वीपक्षीय स्वार्थ र चासोका मुद्दाहरुबारे नीतिगत छलफल गर्ने बताएका छन्।

तर फेल्टमेनले उत्तर कोरियाका नेता किम जङ-अनसँग भने भेट्ने कार्यक्रम छैन।

सेप्टेम्बरमा पहिलोपटक अनौपचारिक रुपमा गरिएको आमन्त्रण उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको एकदिनपछि अर्थात नोभेम्बर ३० तारिखमा मात्रै स्वीकार गरिएको थियो।

फेल्टमेन सोमबार बेइजिङमा थिए।

छलफल

उत्तर कोरिया चीनको प्रमुख आर्थिक तथा कुटनीतिक साझेदार हो।

चीनले आफ्ना उच्च कूटनीतिक अधिकारीलाई गत महिना उत्तर कोरियाका अधिकारीहरुसँग वार्ता गर्न प्योङयाङ पठाएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले उत्तर कोरिया संकटबारे मध्यस्थता गरिदिने प्रस्ताव राखेका थिए।

तर अहिले तत्काल उनले प्योङयाङको भ्रमण गर्ने कुनै योजना नरहेको राष्ट्रसंघले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com