ओलीको चुनावी सभामा उच्च सुरक्षा, पहिलोपटक उतारियो सेनालाई


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

१७ मंसिर, मोरङ । विराटनगरको पुष्पलालचोकमा आइतबार विहान आयोजित वाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

विभिन्न स्थानमा चुनाव सभा र उम्मेदवार लक्षित गरी वम विष्फोटका घटना भएपछि चुनावी सभाको सुरक्षा व्यवस्था सुदृढ बनाइएको थियो ।

कार्यक्रम स्थलमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरिएको थियो । चौरस्ता नजिकै आयोजित सभामा सहभागीहरुलाई पनि विषेश जाँच गरी पठाइएको थियो ।

कार्यक्रमस्थल आसपास सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रम स्थल वरपर ठूलो संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित नेपाली सेना परिचालन गरिएको छ ।

भित्री घेरामा म्यादी प्रहरीसहित नेपाल प्रहरी राखिएको थियो भने बाहिरी घेरमा नेपाली सेना र सशस्त्र प्रहरीले पहरा दिएका थिए । नेपाली सेनाले गस्ती समेत गरेको छ ।

जिल्लास्थित सुरक्षा स्रोतका अनुसार कार्यक्रमस्थल आसपास हिजो साँझबाट नै नेपाली सेना सहितको सुरक्षा निकायको टोलीले गस्ती गर्दै आएको छ । तर, चुनावी सभाको सुरक्षा घेरामै सेनालाई राखिएको पहिलो पटक हो ।

‘सम्भवत नेपाली सेना पनि यसरी कार्यक्रम स्थलको सुरक्षा घेरामा उतारिएको यो पहिलो पटक हो । त्यसमा पनि यति उच्च सुरक्षाको प्रवन्ध गरिएको पनि यो पहिलो हुनुपर्छ,’ सुरक्षा स्रोतले भन्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com