कांग्रेसले पाँच वर्षसम्म धैर्य गरोस् –माओवादी नेता पुन
प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

दाङ, १२ मंसिर । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ले नेपाली कांग्रेसलाई लोकतान्त्रिक चरित्र देखाएर पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिएका छन् ।
दाङको भालुवाङमा मंगलवार वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले वाम एकताको कुराले कांग्रेस अत्तालिएको आरोप लगाउँदै पाँच वर्ष प्रतिपक्षमा बसेर हेर्न सुझाव दिएका हुन । ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष बन्नु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो, हामी वाम एकता गरेर अब सत्तापक्ष बन्ने भयौँ नै, कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्ने धैर्य गरोस्’, उनले भने– ‘लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेन भने कांग्रेस प्रजापरिषद्जस्तै अभिलेखालयको कुनामा सीमित हुन्छ, यो कुनै आरोप होइन यथार्थ हो ।’
अब मंसिर २१ पछि वाम सरकार कसैले रोक्न नसक्ने जिकिर गर्दै उनले चुनावी गठबन्धन र एकतालाई लोकतन्त्र विरोधी देख्ने कांग्रेसको दृष्टिकोण नै अलोकतान्त्रिक भएको टिप्पणी गरे । ‘तपाइँ संसारभरिको लोकतन्त्रको इतिहास हेर्नुहोस्, अझ कांग्रेसले आदर्श मान्ने गरेको संसदीय लोकतन्त्रमा चुनावी गठबन्धन र विचार मिल्नेबीच एकता हुनु स्वाभाविक मानिन्छ तर यहाँ हाम्रो एकता देखेर किन कांग्रेस डराइरहेको छ, लोकतान्त्रिक अभ्यासदेखि डराउनु अलोकतान्त्रिक चरित्र हो, यो कांग्रेसले नसुधारे कांग्रेस रहन्न उनले भने । वाम सरकारले १० वर्षमा ५० हजार पर्यटक भित्र्याउने उल्लेख गर्दै उनले २० हजार मेघावाट विद्युत उत्पादन गर्ने समेत जिकिर गरे । एमाले र माओवादीको गठबन्धन चुनावका लागि नभै अब एकतालाई हुने समेत बताए ।