क –कसले गर्दै छन् ११ दिनसम्म मतपेटिकाको सुरक्षा


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

काठमाडौं, १० मंसिर । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ तथा प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्रमा मतदान सकिएसँगै हिजो देखिनै मतपेटिका संकलनको काम भइरहेको छ ।
आइतबार चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर आज विहान सम्म सक्ने निर्वाचन आयोगले जनाएको छ । स्थलगत रुपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टरमार्फत ल्याएको छ ।

मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान २१ गते सकिएपछि एकैपटक मतगणना सुरु गरिने निर्वाचन आयोगले निर्णय गरेको छ । गणना २१ गतेपछि हुने भएकाले अब ११ दिन मतपेटिका सुरक्षित राख्नुपर्ने चुनौती आयोग र सुरक्षा निकायलाई छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिनेछ ।
जम्मा गरिएका मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाकर्मीको विशेष निगरानीमा बन्द कोठाभित्र सिलबन्दी गरेर राख्ने तयारी गरेको छ । मतपेटिका राखिएको कोठामा आयोगका अतिरिक्त राजनीतिक दलहरुले पनि ताल्चा वा सिलबन्दी गर्न सक्ने र सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि पनि बस्न सक्नेछन् ।

दलहरुसँगको सहमतिका आधारमा मुख्य निर्वाचन अधिकृतले गणना कार्य अघि बढाउनेछन् । मंसिर २१ गते बाँकी ४५ जिल्लाका एक सय २८ क्षेत्रमा पनि चुनाव सकिएपछि गणना सुरु हुनेछ । आयोगले एक हप्ताभित्र प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशको परिणाम सार्वजनिक गर्ने गरी गणनाका लागि तयारी गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com