अमेरिकाको अध्यागमन जेलमा ४३ जना कागजपत्रविहिन गर्भवती बालिका


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

अमेरिकाको अध्यागमन जेलमा कम्तीमा ४३ जना कागजपत्रविहिन गर्भवती बालिकाहरु रहेको नयाँ सरकारी तथ्यांकले देखाएको छ । गैरकानुनी रुपमा मेक्सिकोको सिमा हुँदै अमेरिका छिर्ने बालबालिकाहरुको संख्यामा बृद्धि भएसँगै हिराशतमा रहेका गर्भवती बालिकाहरुको संख्यामा पनि बृद्धि भएको जनाइएको छ ।

गत आर्थिक बर्षमा ४२० जना गर्भवती बालिकाहरु सिमा क्षेत्रमा पक्राउ परेकोमा अहिले पनि ४३ जना बालिकाहरु अध्यागमन जेलमा नै रहेको हेल्थ एण्ड ह्युमन सर्भिस डिपार्टमेन्टले जनाएको छ । आर्थिक बर्ष २०१७ मा पक्राउ परेकाहरुमध्ये १८ जनाले गर्भपतनको अनुरोध गरेका थिए । अमेरिकी सरकारले अमेरिकनसँग जुन गर्भपतनको अधिकार छ, त्यो अधिकार हिराशतमा रहेका कागजपत्रविहिनहरुलाई पनि दिनुपर्ने मागका साथ परेको उजुरीका क्रममा यो तथ्य सार्वजनिक भएको हो । गतमहिना एकजना १७ बर्षीया किशोरीको गर्भपतनको विषयमा अमेरिकाको सर्किट कोर्ट अफ अपिलसम्म मुद्दा पुगेको थियो । जसमा न्यायाधिसहरुमा गहिरो विभाजन देखिएको थियो ।

ती १७ बर्षीया किशोरीका सन्दर्भमा अमेरिकी सरकारले गर्भपतन गराउन अस्वीकार गरेपछि अदालतमा जानुपरेको थियो । ती किशोरी मेक्सिकोबाट अमेरिकामा गैरकानुनी रुपमा आएकी थिइन् तर उनले आफू गर्भवती भएकोबारे बुबाआमालाई बताउन चाहदैनथिन् । टेक्सासको कानुनले बालिकाहरुको गर्भपतन गराउन अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेपनि ती किशोरीले बाबुआमासँग अनुमति लिन चाहदैनथिन् । अदालतमा गएपछि उनले राज्यका न्यायाधिसबाट गर्भपतनको अनुमति पाएकी थिइन् । ती बालिकाले नै गर्भपतनका लागि खर्चको जोहो गरेकी थिइन्, जसका कारण करदाताहरुले दिएको सरकारी कोषबाट रकम खर्च गर्नुपरेन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com