रामेछापमा निर्वाचनको तयारी पुरा , ९० वटै मतदान स्थलबाट परिचयपत्र बितरण


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

रामेछाप ९ मंसिर । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तिथि नजिकिएसंगै रामेछापमा निर्वाचनको तयारी लगभग पुरा भएको छ । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार र आज मतदाता परिचयपत्र बितरण गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायका अनुुसार जिल्लाको ९० वटै मतदान स्थलबाट मतदाता परिचय बितरण भईरहेको छ। रामेछापका गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा १८ हजार बढि मतदाता रहेका छन् । बितरण हुन बाकि २ हजार र नयाँ थपिएको १८ हजार सहिति २० हजार मतदाता परिचयपत्र शुक्रबार र शनिबार बितरण गर्ने योजना अनुरुप मतदाता परिचयपत्र बितरण भैरहेको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले बताए ।

निर्वाचनका लागि जिल्लामा १५ सय २८ कर्मचारी परिचालन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९० मतदान स्थल र १ सय ९१ वटा मतदान केन्द्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले निर्वाचनमा भाग लिदै छन् । जिल्लाको ९० मतदान स्थलमध्य १४ अति सम्वेदनशिल , २३ सम्वेदनशिल र ५३ सामान्य अवस्थामा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । अति सम्वेदनशिल मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा मतदान स्थलमा हुन सक्ने अप्रीय घटनाहरुलाई मध्यनजर गर्दै रामेछापमा २२ सय भन्दा बढि सुरक्षा कर्मी खटिएका छन् । निश्पक्ष र स्वतन्त्र अनि भएरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाईएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले बताए ।
यसैबिच शुक्रबारै रामेछापमा गृहसचिव मोहोनकृष्ण सापकोटा , नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका उच्च अधिकारी सहितको टोलीले रामेछापको निर्वाचन सुरक्षाका सवालमा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनीहरुले रामेछाप आएर निर्वाचनमा शान्ति सुरक्षा मजवुद बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com