राजपाको आज घोषणापत्र जारी हुँदै, मधेस छुट्टै देश भएको उल्लेख


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

– कुलचन्द्र न्यौपाने

मंसिर ७, २०७४-राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या सहतिको घोषणापत्र ल्याएको छ ।

राजपाले आज अपरान्ह महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै छ । उक्त घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै देश रहेको राजापले उल्लेख गरेका छ । घोषणापत्रमा राखिएको यस्तो प्रावधानप्रति राजपाकै नेताहरुले असन्तुष्टी प्रकट गरेका छन् ।

राजपाले एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएपनि सधै व्यवहारिक नहुने व्याख्या गर्दै दक्षिणतिरको समथर भूमीलाई छुट्टै देशको रुपमा चित्रण गरेको छ ।

‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको छ । त्यस्तै भारतको दार्जिलिंग, सिक्किम, आसम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी सँस्कृती, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको  देश फरक छ,‘राजापाको घोषणापत्रको प्रस्तावनामा उल्लेख छ, ‘यसैगरीकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शत प्रतिशत नेपाली हुन तर ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि हो । जसको निश्चित भुगोल, समान जीवन पद्दति, सँस्कृति, सभ्यता एवं मनोविज्ञान छ । यो भारत, मरिसस र अन्य देशका समुदाहरुसँग मेल खान पनि सक्छ ।’

विश्वका अन्य राष्ट्रहरुसँग तुलना गर्दै राजापाले तराई—मधेसलाई छुट्टै देशको रुपमा व्याख्या गर्ने विवादस्पद दृष्टिकोण घोषणापत्रमा ल्याएको छ ।

जापान, स्वीडेन, दि नेदरल्यान्ड्स एक राज्य र एक राष्ट्र भएका अन्यन्तै थोरै मुलुकहरुमध्ये हुन् । तर, अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनिगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन भन्दै राजापाले भनेको छ,‘यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो ।’

पार्टीले घोषणापत्र बनाउने जिम्मेवारी राजपा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले पार्टीभित्र छलफल नै नगरी मधेसलाई छुट्टै देशको रुपमा लिनुपर्ने धारणा घोषणापत्रमा ल्याएको प्रति पार्टीकौ नेतृत्वपंक्ति असन्तुष्ट भएको छ ।

राजपा महासचिव द्धोय मनिष सुमन र केशव झाले पार्टीभित्र छलफल भएर घोषणापत्र नआएको बताए । सुमनले राष्ट्रको परिभाषा गर्दा संयोजक ठाकुरले यस्तै यस्तै परिभाषा र धारणा धेरैअघि देखिनै गर्दै आएको बताए । ‘त्यसको प्रभाव घोषणापत्रमा परेको होला, तर पार्टीमा छलफल भएको आएको होइन,’ उनले भने,‘देशको अखण्डताप्रति हाम्रो लगाव छ । अखण्ड देशभित्रै हाम्रो पहिचान खोज्ने हो । नेपाललाई विखण्डन गरेर पहिचान खोज्नुपर्छ भन्ने हाम्रो मान्यता होइन ।’

अर्का महासचिव झाले पार्टीभित्र छलफलनै नभई एउटा व्यक्तिको धारणालाई घोषणापत्रमा ल्याईएको प्रति आपत्ति जनाए । ‘यो एकतर्फी रुपमा आएको घोषणापत्र हो । यसलाई सिंगो पार्टीको घोषणापत्रको रुपमा लिन सकिन्न,’ उनले भने,‘२१ शताव्दीमा विश्व नै एउटै राष्ट्र भन्ने अवधारणा आइरहेका बेला छुट्टै देशको कल्पना हामी गर्ने सक्दैनौं ।’ घोषणापत्रको प्रस्तावनामा भनेजस्तै मधेसलाई छुट्टै देशको परिकल्पना गर्ने हो भने मधेसभित्रै पनि अवधि, मैथली, भोजपुरा, थारुलगायत विभिन्न भेषभूषा, जातिय पहिचान र भाषाका आधारमा धेरै देश बन्न सक्ने झाले बताए । ‘हामीले झापादेखि कंचनपुरसम्म एउटा प्रदेश खोजेको हो, छुट्टै देश खोजेको होइन’ उनले भने,‘पार्टीको नामाबाट आज जारी हुन लागेको घोषणापत्रको प्रस्तावनाप्रति हाम्रो कुनै सहमति छैन । सिंगो पार्टीको धारणा पनि होइन ।’

राजापले घोषणापत्रमा मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महशुस नगरेसम्म एउटै राज्यराष्ट्रको निर्माण हुन नसक्ने बताएको छ ।

एउटै राज्यराष्ट्र बनाउने अभूतपूर्व अवसर असमावेशी चरित्रका मुख्य राजनीतिक दलहरु, संकीर्ण र नश्लीय सोच भएका अग्रेणी नेताहरु र केही हदसम्म यस्ता दल र नेताहरुसँग सानिध्यता भएका ‘तथाकथित’ नगारिक समाज र विज्ञहरुको अकर्मण्यता र व्यक्तिगत स्वार्थले गर्दा त्यो अवसर गुमेको राजपाको ठहर छ । ‘अब त्यो अवसर गुमेको मात्रै होइन, बरु नयाँ सघर्ष र विरोधको बाटो खोलिदिएको छ,’ राजापको घोषणापत्रमा उल्लेख छ ।

राजापले मधेसी समुदायको माग सम्वोधनका लागि हालको संविधान संशोधन अपिरिहार्य रहेको बताउँदै त्यसका लागि जस्तोसुकै सघर्ष र त्यागको लागि पूर्ण तयार रहेको उल्लेख गरेको छ । ‘पछिल्लो समयमा नेपाली कांग्रेस, माओवादी समेतको समर्थनमा संविधान संशोधन हुनुपर्छ भन्ने आसयका साथ पेश भएको संविधान संशोधनको विधेयकले ५८ प्रतिशत समर्थन पाएको थियो’राजापले उल्लेख गरेको छ,‘यसबाट यो संविधान झिनो अंकगणितको आधारमा टिकेको बास्तविकता स्वत: सावित हुन्छ ।’

कुन दललाई के भने ?

कांग्रेसः भ्रष्टाचार र विसंगतीको भागिदार 

एमाले र माओबादी केन्द्रको तुलनामा राजपाले कांग्रेसप्रति नरम दृष्टिकोण राखेको छ । लोकतन्त्रको हरेक सघर्षमा र आन्दोलनको नेतृत्वमा रहेको कांग्रेस बहुदलपछिको सवैभन्दा लामो समय सत्ताको केन्द्रमा रहेको उल्लेख गर्दै समयमै कांग्रेस सचेत, सजग र समझदारी नहुदा मधेस आन्दोलनमा दर्जनौ व्यक्तिहरुले ज्यान गुमाउन पुगेको बताएको छ । उसले कांग्रेसलाई आन्तरिक रुपमा अत्यन्तै अलोकतान्त्रिक भएपनि यसको दर्शन, अबधारणा र घोषणापत्रहरुमा लोकतन्त्रले प्रयाप्त स्थान दिईएको परम्परागत मध्यमधारको राजनीतिक शक्तिको रुपमा लिएको छ । नेपालको दलिय र सँसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नाताबाद, सांसद खरिद बिक्री, चुनावमा पैसा र बलको अत्याधिक प्रयोग, जनप्रतिनिधिहरुको अलोकतान्त्रिक आचारण, दलिय फाईदाका लागि सरकारी ढुकुटीको दोहन, भ्रष्ट्रचारीजस्ता विसँगतिको भागीदार कांग्रेस रहेको राजपाको ठोकुवा छ । उसले कांग्रेसलाई कम्यूनिष्ट जस्तो पटक—पटक बोली फेरी नरहने र यसका नेताहरु राष्ट्रिय मुद्दाहरुसँग छलफल र सहकार्य गर्ने मामिलामा सहज, विचारवान र व्यवहारिक रहदै आएको भन्दै प्रशंसा समेत गरेको छ ।

एमालेः सत्तालोलुप र अवसरवादी पार्टी

राजापले एमालेलाई नश्लीय सोच र विचार भएको पार्टीको रुपमा चित्रण गरेको छ । कांग्रेसको तुलनामा एमालेप्रति राजपा बढी आक्रमक देखिएको छ । एमालेलाई राष्ट्रिय एकता र अखण्डता र सामाजिक सद्भाव विथोल्ने पार्टीको रुपमा लिदै राष्ट्रियतालाई आफने सुविधाका लागि गलत व्याख्या गर्दै आएको बताएको छ ।

‘जुन पार्टीले केही नेताको व्यक्तिगत महत्वाकांक्ष पुरा गर्न आफ्नै देशको एक तिहाई जनसँख्यालाई विदेशी, विखण्डनकारी र अराष्ट्रिय भन्न सक्छन, जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि विथोल्न पछि पर्दैन त्यो न राजनीतिक दल नै हो र त्यसको औचित्व छ भनेर कसरी भन्ने  ?’

राजापले एमालेलाई स्वरुपमा राजनीतिक दल भएपनि विचार, आचरण र व्यवहारले आफूलाई एक सिद्धान्तहीन, असँवेदनशील, चरम अवसरवादी, विकास विरोधी, सँस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जानका लागि जे पनि गर्न सक्ने र जो सँगपनि मिल्न सक्ने पाहडि मुलुको उपल्लो जातीको सँगठन भनी आलोचना गरेको छ । ‘पार्टीको माथिल्लो नेतृतवपंक्तिमा रहेका २० जना नेताहरुको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि यो केही जाति बिशेषका पुरुषहरुको बाहुल्यता र बर्चस्य रहेको पार्टी हो’राजापाले घोषणापत्रमा भनेको छ,‘मधेसी, दलित, मुस्लिम, महिला आदिको शून्यप्राय: उपस्थितीले यो सँगठनको जातीय र नश्लीय सोंच आफैमा पुष्टी हुन्छ ।’

राजपाले राष्ट्रिय विकासमा तगारो हाल्ने अग्रणी पार्टी एमाले रहेको भन्दै अरुण तेस्रो जलविद्युत आयोजना बन्ने क्रममा विश्वबैंकलाई पत्र लेखेर बन्द गराई राष्ट्रिय विकासको ढोका बन्द गराएको पार्टीको रुपमा उल्लेख गरेको छ । उसले कुनैपनि तहको कुनैपनि निर्वाचनमा एमालेको समर्थनमा दिएको हरेक मत समावेशिता,विकास,राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सदभवको विरोधमा स्वत: जाने उल्लेख गरेको छ । उसले एमालेलाई मुखले विकास भनेपनि विकासलाई सधै अलपत्र पार्दै आएको दुई जिब्रे सँगठन भनी आरोप लगाएको छ । ‘एमाले विशुद्ध सत्ताको लागि राजनीति गर्ने, सत्ता प्राप्ति वा सत्तामा रही रहनका लागि जो सँगपनि जुनसुकै मुल्यमा जतिबेला पनि तालमेल गर्न तयार रहेको पार्टी हो’राजापले भनेको छ ।

माओवादी केन्द्रः लोपन्मुख पार्टी 

राजापले माओवादी केन्द्रलाई लोपन्मुख हुन लागेको पार्टीको रुपमा चित्रण गरेको छ । ‘यो घोषणापत्र नेपाली जनताको हातमा पुग्दा सम्म नेकपा माओवादी केन्द्र कुन नामले चिनिने, कुन स्वरुप वा आकारमा भेटिने या नभेटिने वा फेरी कुनै अर्को पार्टीमा विलय नै हुने हो कि निश्चित छैन’ घोषणा पत्रमा भनिएको छ ।

राजपाले माओवादी केन्द्राई आफ्नो जन्मदेखिनै अनेकौ पटक सँगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनैपनि मुद्दामा टिक्न नसकेको, पटक—पटक आन्दोलनमा जाने तर विना कारण फर्कने, द्रत गतिमा सहयात्री दलहरु फेरी रहने, स्वरमा ठुलो तर शासनकालमा अत्यन्तै फितलो भईदिने र हालका दिनेमा आफ्नो अस्तित्वनै मेटेर अर्को दलमा समाहित हुन तयार रहेको अन्यन्तै अस्थिर र अचम्मको लोपोन्मुख दल भनी चित्रण गरेको छ ।

‘माओवादीको नाममा सुरुमा चिनिएको यो दलले नेपालमा गणतन्त्रको प्राप्तिमा, जनताको विचारदयोमा, समावेशिताको मुद्दा उठान गर्ने क्रममा र केही हदसम्म पहिलो संविधानसभामा सकारात्मक र परिवर्तनका मुद्दाहरुमा मुजबुद योगदान दिएको पार्टी हो’राजपाले भनेको छ,‘तर पछिल्लो क्रममा खासगरी दोस्रो संविधानसभा निर्वाचनमा उपस्थित कमजोर भएपछि माओवादी केन्द्र सिद्धान्द विर्सिएर दिग्भ्रमित भएको, आफ्नै अस्तित्व बचाउन विचलित भएको, जायज, नाजायज सवैसँग सहकार्य गर्दै हिड्ने, अत्तालिएको र अविश्वासिलो सँगनको रुपमा देखिएको छ ।’

वाम गठबन्धन अवसरवादी गबठन्धन

राजपाले एमाले र माओवादी केन्द्रको मिलनलाई कम्यूनिष्टहरुको अवसरवादी मिलनेको रुपमा चित्रण गरको छ । ‘एउटा नेताको फेरी प्रधानमन्त्री बन्ने सपना र अर्को नेताको राष्ट्रपति बन्ने महत्वाकांक्षका कारणले कुनैपनि सिद्धान्तको लेसमात्रै पनि उपस्थित नभएको अत्यन्तै अल्पकालीन र अवसरबादी राजनीतिक हथकण्डा मात्रै हो’ एमाले र माओवादी केन्द्रको गठबन्धनप्रति राजपाको धारणा छ,‘दुई व्यक्तिहरुको (एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) नितान्त वैयक्तिक स्वार्थ पुरा गर्न यसले एमालेको ४० र माओवादीको ६० प्रतिशत नेतृतव बर्गको राजनीतिक जीवनसँग खेलवाड गरेको छ ।’

एमाले अध्यक्ष ओलीको बोलीले वाम गठबन्धनले अधिनायकबाद लाद्ने दुस्साहस गरेको राजपाले ठहर गरेको छ । ‘ओलीको दम्भ, बोलेको बोलि र अन्य राजनीतिक दलहरुसँग गरेको व्यवहारले के पुष्छी गर्छ भने तीनीहरुले मौका पाए भने फेरी पनि तानाशाही लाद्ने र अधिनायकबादको अभ्यास गर्ने दुस्साहस गर्न पछि पर्दैनन’राजपाले घोषणापत्रमा भनेको छ,‘नेपाली जनता जागरुक भईसकेको अवस्थामा उनीहरुको प्रयास सफल हुन्छ भन्ने त छैन तर नेपाललाई फेरी एकपटक सघर्षको भूमरीमा फस्नेछ र राष्ट्रको फेरी एक वा दुई दशक बहुमुल्य समय व्यर्थ जाने छ ।’

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com