कीर्तिपुरका सुरेन्द्र मानन्धर भन्छन्- म महाभारतको कृष्ण हुँ, हितमानलाई अर्जुन बनाएको छु !


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

७ मंसिर, काठमाडौं । भेट्नका लागि फोन गर्नासाथ सुरेन्द्र मानन्धरले भने, ‘म उम्मेदवार होइन नि !

हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भए । उनी यो पटक एमालेबाट काठमाडौं १० का सर्वसम्मत उम्मेदवार थिए । तर, वाम गठबन्धनका कारण टिकट खोसियो र त्यहाँ माओवादीका हितमान शाक्य उठेका छन् ।

तर, एमाले केन्द्रीय सदस्य सुरेन्द्रले ‘म उम्मेदवार होइन’ भन्दै स्पष्टीकरण मात्र दिएर पुगेको छैन, ‘हितमान हाम्रा उम्मेदवार हुन्’ भनेर चिनाउँदै हिँड्नु परेको छ ।

सुरेन्द्रकै शब्दमा उनी यो चुनावरुपी महाभारतका कृष्ण हुन् भने हितमान अर्जुन !

उनको यो तर्क यसअर्थमा जायज छ कि हितमानको जितहार एमालेकै निर्भर छ ।

सुरेन्द्रको खोसिएको सपना

वि.सं. ०४३ सालमा पद्मरत्न तुलाधरको चुनावी अभियानसँगै राजनीतिमा होमिएका सुरेन्द्र मानन्धर विद्यार्थी हुँदै पार्टी राजनीतिमा आए । कीर्तिपुरका रैनाथे हुन् । ०५७ का बीएलका नेपाल टपर उनले कानुनमा एलएलएम गरेका छन् ।

०७० को संविधानसभा चुनाव लड्दासम्म प्राध्यापन र अधिवक्ता पेशालाई सँगसँगै अघि बढाएका थिए । उक्त चुनावमा प्रचण्ड तेस्रो हुँदा सुरेन्द्र दोस्रो भए । कांग्रेसका राजन केसीले चुनाव जिते । जबकी ०६४ मा प्रचण्डले चुनाव जित्दा एमाले झण्डै शुन्य भएको थियो । दोस्रो हुँदा सुरेन्द्रले हारे मानेनन्, अझै होसिए ।

कानुन व्यवसायी, प्राध्यापन सबै काम छाडेेर चुनावी दौड थाले । छैमलेदेखि नागढुंगासम्म चाहारे, स्थानीयस्तरमा काम गरे । सुरेन्द्रको अगुवाई र सिंगो पार्टी पंक्तिको मेहनतको फल गत बैशाख अन्तिममा भएको स्थानीय चुनावमा देखियो ।

एमालेले कीर्तिपुर नगरपालिका जित्यो । दक्षिणकालीका केही वडा र चन्द्रागिरी नगरमा उपमेयरसहित केही वडाध्यक्ष जित्यो ।

समग्रमा यो क्षेत्रमा पर्ने तीन नगरपालिकाको २९ वटा वडामध्ये १८ वटा एमालेको पोल्टामा आयो । सुरेन्द्रलाई पनि लाग्यो, यसपालि पक्का चुनाव जितिन्छ ।

तर, वाम गठबन्धनसँगै सुरेन्द्रको यो सपना खोसियो ।

शीर्ष नेता ‘बोक्ने’ रहर …

पार्टी नेतृत्वकै कारण काठमाडौं १० गुमाउने परेको एमाले स्थानीय नेता कार्यकर्ताको बुझाइ छ । जब माओवादीले यो क्षेत्र लिने भयो, एमाले नेताहरुले यहाँ प्रचण्डलाई मागे । तर, उनी चितवन ३ बाट उम्मेदवार बन्ने तय भइसकेको थियो, जुन हेरफेर भएन । एमाले एक नेता भन्छन्, बोक्नु नै पर्ने भएपछि हामी प्रचण्डलाई नै बोक्छौं । नभए बादल ल्याउनुस्, जिताउने जिम्मा हाम्रो भयो ।’

उम्मेदवारी दर्ता -१६ मंसिर) को दुई दिन अघि बादल कीर्तिपुर पुगेका पनि रहेछन् । एमाले नेताहरुले काठमाडौं १० मा आए चुनाव जिताएर पठाउने सन्देश पठाए ।

तर, खै किन हो, बादल चुनाव लडेनन् र हितमान शाक्य वाम गठबन्धनको उम्मेदवार बने ।

हितमान उम्मेदवार त बने तर, एमालेभित्र ठूलो असन्तुष्टि देखियो । यो क्षेत्रमा तीन नगरपालिकाको २९ वटा वडा पर्छ, जसमध्ये १८ एमाले, १० कांग्रेस र एउटा माओवादीले जित्यो । कीर्तिपुर नगरमा त बहुमत टिम उसकै छ ।

एमाले नेताहरुका अनुसार ०५६ पछि पहिलो पटक यो क्षेत्रमा पार्टी जित्ने अवस्था आएको थियो । तर, पार्टी नेतृत्वका कारण यो ‘ऐतिहासिक’ अबसर गुम्यो ।

यो निर्णयले एक प्रकारले पार्टी संगठन क्षतविक्षत नै भयो, जुन विस्तारै सम्हालिने क्रममा छ ।

एमाले नेताहरु वाम गठबन्धनको संयुक्त चुनावी अभियानमा सक्रिय हुन थालेका छन् । तर, अवस्था यस्तो छ कि चुनावका कुनै पनि कार्यक्रम वा भेलामा होस्, ७०/८० प्रतिशत एमालेका कार्यकर्ता हुन्छन्, माओवादी २०/३० प्रतिशत मात्र ।

तर, पनि एमाले नेताहरु हितमानलाई चुनाव जिताइ छाड्ने दाबी गरेका छन् । हितमानका चुनावी कमाण्डर, जो वाम तालमेल नभएको भए काठमाडौं १० मा एमालेबाट उम्मेदवार बन्ने थिए, एमाले नेता सुरेन्द्र मानन्धर भन्छन्, ‘यो महाभारत -चुनावी रथ) हाँक्न कृष्ण मै हुँ । अर्जुन, हितमान शाक्य हुन् ।’

वाम गठबन्धनका क्रममा क्षेत्र नम्बर १० गुमेपछि पार्टीमा तीव्र असन्तुष्टि देखिएको स्वीकार गदैै मानन्धर भन्छन्, ‘पार्टी जीवनमा यति क्षतविक्षत कहिल्यै भएका थिएन । तर, हामीले सबै सम्हाल्यौं । सुरुमा हात काटौंला तर माओवादीलाई भोट नहाल्नौं भन्ने मानिस कतै हितमानलाई भोट मागिरहेका होला ।’

यो सजिलै भएको भने होइन ।

काठमाडौं १० मा मात्र एमालेले झण्डै ३/४ दर्शन कार्यकर्ता भेला-प्रशिक्षण भयो । जहाँ जाँदा पनि यसपालि हामीले जित्थ्यौं, किन छाडेको भन्ने प्रश्न आउँथ्यो ।

उनीहरुलाई सम्झाउने जिम्मा तिनै सुरेन्द्रको रहृयो, जसको उम्मेदवारी खोसिएको थियो, उनैलाई कार्यकर्ताहरु के गर्ने ? भनेर सोध्थे । उनी मलाई हेरेर चुप लाग्ने, म उम्मेदवारी नपाएको मानिस त भाषण गर्दै हिँडेको छु भन्दै सम्झाउँथे ।

नेताहरुका अनुसार अब कम्तिमा एमालेको सिंगो कार्यकर्ता पङ्ती लयमा आएको छ । तर, यत्तिकै भरमा एमालेको जित सुनिश्चित भयो भन्ने अवस्था भने छैन । उनको जित एमालेका कार्यकर्तासँगै समर्थकले मन फुकाएर भोट हाल्छन् कि हाल्दैनन् भन्नेमा भरपर्छ ।

हितमानका चुनावी प्रतिस्पर्धी कांग्रेसका राजन केसी छन् । केसी उनै हुन्, जसले ०७० को संविधानसभा चुनावमा यही क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।

प्रचण्डलाई हराएसँगै केसी एकाएक चर्चामा आए । अहिले खेलकुद राज्यमन्त्री पनि छन् ।

तर, उनी यो पटक भने रक्षात्मक देखिएका छन् । स्थानीय चुनावको परिणाम, एमाले र माओवादीको गठबन्धन र पार्टी भित्रको असन्तुष्टिका उनका प्रतिकुलता हुन् । त्यसका साथै दोहोर्‍याएर चुनाव जित्नेलाई केही कठिन हुन स्वभाविक हो ।

सत्तापक्षसँग छिट्टै असन्तुष्ट हुने काठमाडौंका मतदाताको पुरानै ट्रेण्ड नै हो, जुन कीर्तिपुरमा पनि छ ।

काठमाडौं १० को चुनावी अवस्थाबारे हामीले एमाले नेता मानन्धरसँग कुराकानी गरेका छौंः

वाम गठबन्धन बन्नुअघिसम्म एमालेबाट तपाई उम्मेदवार भन्ने थियो । तर, अहिले माओवादीको भागमा पर्‍यो । यसलाई तपाईले कसरी लिनुभएको छ ?

सुरुमा त व्यक्तिगत रुपमा पनि मैले र १० नम्बरका आम कार्यकर्ताले असहज महसुस गरेे । यस्तो नगरौं भनेर साथीहरुले धेरै मेहनत पनि गरे, पार्टी नेताहरुलाई भेटे । तर, राजनीतिक निर्णयका रुपमा आएपछि स्वीकार गर्नुको विकल्प रहेन ।

यो स्वीकारोत्ति नेताहरु मात्र गरे कि कार्यकर्ता र समर्थकसम्म पुग्यो ?

एउटा नेताको हैसियतले मैले पनि योगदान गर्नुपर्‍यो । अहिले अवस्था काबुमा आइसक्यो ।

तपाई अब हितमान जिताउने कमाण्डर ?

अँ । हितमानजीलाई जिताउने मेरो प्रमुख लक्ष्य छ । जहाँ गए पनि माओवादीको उम्मेदवार बनेको छैन, हाम्रो पार्टीको उम्मेदवार भनेको छु । किनभने हाम्रो पार्टीले निर्णय गरेको हो ।

एमालेका त होइन नि हितमान ?

हाम्रो पार्टीको … (हाँस्दै) गठबन्धन भन्ने शब्द मानिसहरुलाई रोचक नलाग्ने रहेछ । हाम्रो पार्टीको भनेपछि भोलि एउटै पार्टी हुने त रहेछ भन्ने फिल हुन्छ ।

हितमानले जित्ने आधार के छ ?

मुख्यतः एमालेको संगठन हो, एमालेका कार्यकर्ता हुन् । माओवादीका साथीहरु पनि स्वीकार गर्नुहुन्छ कि यो क्षेत्रमा उहाँहरुको संगठन भन्दा पनि कार्यकर्ता र समर्थक हो । यसरी हेर्दा एमाले र माओवादीको कार्यकर्ता मात्र जोड्दा पनि कांग्रेसको भन्दा धेरै मानिस चलायमान हुन्छन् ।

मतदाताकै कुरा गर्दा पनि ७० प्रतिशत वामपन्थीकै छन् । त्यसैले यो चुनावमा सजिलो पनि छ ।

स्थानीय चुनावको मत परिणामका आधारमा भन्नुभएको हो ?

स्थानीय चुनाव त एउटा परिणाम हो हामीले पाएको । त्योभन्दा पहिलो कुरा त संगठन नै हो ।

तर, दुई वटा चुनाव त एमालेले हारेकै हो ?

०६४ मा प्रचण्डजी जित्नुभएको हो । जुन प्रताप थियो प्रचण्डजीमा, भलै त्यो लामो समय चलेन, त्यही कारणले जितेका हुन् । ०७० मा प्राविधिक कारण हामीले जित्न सकेनौं । केहीकेही माओवादीको भूमिकाले पनि जित्न सकेनौं ।त्यति हुँदा पनि त्यो चुनावमा प्रचण्डजी र मैले पाएको मत जोड्दा जित्नेको भन्दा धेरै छ । स्थानीय तहको चुनावमा दुई पार्टीले पाएको मत हेर्दा पनि ३३/३४ प्रतिशत कांग्रेसको छ भने ६६/६७ प्रतिशत मत गठबन्धनकै छ ।

तर, त्यो मत त एमाले वा उसका अमूक उम्मेदवारलाई भनेर दिइएको होला । आज त माओवादी केन्द्रको नेता हितमान शाक्य उम्मेदवार छन् । एमाले नेता र कार्यकर्ताले भोट हाले पनि समर्थकले अरुलाई पनि त भोट हाल्न सक्छन् नि ?

तपाईले भन्नुभएको ठीक हो । यो चुनावमा हाम्रो प्रतिकुलता भनेको यो पनि हो । संघ मात्र होइन, कीर्तिपुर नगरपालिका रहेको प्रदेशसभा पनि माओवादीले लिएको छ । हाम्रा नेताहरुले यो बुझ्नुपथ्र्यो कि प्रदेश लिएको भए कार्यकर्ता चलायमान बनाउन सहज हुन्थ्यो । एमालेले दिँदा पनि माओवादीले बुझ्नुपथ्र्यो । अब यो गइसक्यो । तर, हाम्रो स्कुलिङ के छ भने पार्टी निर्णय बाहिर जाँदैनौं । त्यसैले हाम्रा कार्यकर्ता सबै चलायमान भइसकेका छ ।

र, भोलि पार्टी एकता नै हुने भएकाले हाम्रो पार्टीकै जित्ने भएकाले हामी लागेका छौं र, हितमानजीलाई जिताउनु हाम्रो परम दायित्व हो भन्ने ठानेका छौं ।

यो चुनावमा एमालेको राम्रो सिट आउँला, माओवादीको पनि सम्मानजनक हैसियत बल्ला । अनि अब आफ्नै बाटो लाग्ने हो भन्दै दुई पार्टीको एकता भएन भने ?

विगतमा आपसमा विश्वासको संकट देखिएका छन् । तर, यसपटक त्यस्तो हुँदैन भन्ने लाग्छ । एमालेले जति सिट जितेको हुन्छ, त्यसमा माओवादी केन्द्रका साथीहरुको योगदान हुन्छ । माओवादीले जितेको सिटमा पनि एमालेको योगदान रहन्छ । हो, यो योगदानको दबाव सामान्य हुँदैन, निकै ठूलो हुन्छ । यदि नेताहरुले यसलाई सामान्य ठानेका छन् भने त्यो ठूलो गल्ती हुनेछ ।

बरु मलाई त एकतापछि भोलि बन्ने पार्टी कस्तो होला भन्ने चिन्ता लाग्न थालेको छ । आज चुनाव लड्दै गर्दा हामीले सम्बृद्धिको बाटो तय गर्न गठबन्धन र पार्टी एकता भनेका छौं । त्यसका लागि हाम्रा नेताहरुको सांस्कृतिक रुपान्तरण सुरु भएको छ ? हाम्रा नेताहरुको व्यवहार र सोचाई त्यसअनुसार छ ?

हरेक पटक आफ्नो स्वार्थ पूरा गर्न अरुलाई उपयोग गर्ने राजनीतिक संस्कारबाट आएका छन् । यदि त्यसलाई बोकिरहने र आफ्नो गुट बलियो बनाउन मात्र एकता गरियो भने दुर्भाग्यपूर्ण हुन्छ । त्यस्तो त पार्टी नहोस् भन्न चाहन्छु ।

तर, एकता भएन भने कीर्तिपुरको अवस्था के हुन्छ ?

त्यो अवस्था आउँदै आउँदैन भन्नेमा म पुरै विश्वस्त छु । तर, राजनीति अनन्त सम्भावनाको खेल हो । मानिलिउँ, दुर्घटनाबस त्यो अवस्था आयो भने हितमानजीले नेकपा एमालेको झण्डा बोकेर हिँड्नुहुन्छ । उहाँले बोक्नु भएन भने हामी एमालेको एजेण्डा बोक्न बाध्य बनाउँछौं, नभए उहाँ अगाडि बढ्न सक्नुहुन्न ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com