फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ ।

निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ ।

मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ । थप पाँच स्थानमा स्थापना गर्ने तयारी सेनाको छ । हालसम्म दुई वटा गणका करिब पाँच सय सैनिक फास्ट ट्रयाक निर्माणमा परिचालन भइसकेका छन् ।

थप दुई वटा गणलाई परिचालन गरिने सैनिक प्रवक्ता नैनराज दाहालले जानकारी दिए । सेनाले अहिले भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएल एन्ड एफएस)ले तयार पारेको डीपीआर अध्ययन गरिरहेको छ ।

सरकारले सोही डीपीआर खरिद गर्ने निर्णय गरे पनि त्यसबारे सम्झौता भएको छैन । सेनाले पनि त्यसमा केही प्राविधिक परिवर्तन गर्नुपर्ने आंैल्याएको छ ।

‘डीपीआरको सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालिहाल्न समस्या छैन,’ प्रवक्ता दाहालले भने, ‘अहिले ट्रयाक सहज गराउने काम भइरहेको छ ।’ त्यसबारे आवश्यक कार्यविधि सरकारले पारित गरिसकेको छ ।

हेभी इक्युपमेन्ट आउँदै

द्रुतमार्ग निर्माण तीव्र बनाउन सेनाले आधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद गरेर ल्याउन थालेको छ । नयाँ रक ब्रेकर, एक्जाभेटर, व्हिल लोडर, एयर कम्प्रेसर, रोलर, बुल डोजर, ब्याक हो लोडर र ग्रेडर मेसिन खरिद गरिसकिएको छ ।

ट्रक, क्याब पिकअप, ट्रेलरसहितको ट्याक्टरलगायत साधन पनि खरिद गरिएको छ ।

‘कतिपय मेसिन आइसके, केही भन्सारमा आइपुगेका छन्,’ प्रवक्ता दाहालले भने, ‘काम थाल्न हामी प्राविधिक रुपमा पनि तयार बनेका छौं ।’

मेसिन आएपछि फिल्डमा पठाइहाल्ने र सहज स्थानमा काम थालिहाल्ने योजना सेनाको छ ।

द्रुतमार्गर्का लागि आवश्यक विष्फोटक पदार्थको आपूर्तिकर्ता नियुक्ति प्रक्रिया पनि शुरु भएको छ । छानिने कम्पनीले एक वर्षसम्म द्रुतमार्गर् निर्माणमा आवश्यक विष्फोटक आपूर्ति गर्नेछ ।

चार वर्षमा सक्ने लक्ष्य

गत १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको फास्ट ट्रयाक निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्टलगायत निर्माणलाई छुट्टा-छुट्टै कार्यविभाजन गरेर काम थाल्ने सेनाको तयारी छ ।

ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ, द्रुतमार्ग ।

चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक तयार पार्ने सरकारी योजना छ । ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ ।

उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने छ ।

द्रुतमार्गर्मा पर्ने मकवानपुरको ठिंगनबाट रातोमाटे जोड्ने डेढ किलोमिटर लम्बाइको दुईमुखे सुरुङ पनि निर्माण गरिनेछ ।

६ वटा प्रवेश मार्ग र पैदल यात्रुलाई बाटो काट्न ६ वटा आकाशेपुल पनि निर्माण गरिनेछ । ६५ देखि एक सय २० किमि प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिने गरी निर्माण गरिने सेनाले जनाएको छ ।

विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक व्यवस्थापन प्रणाली पनि राख्ने तयारी छ । हरेक दुई किमिमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको व्यवस्था हुनेछ । दायाँतर्फ भूमिगत रुपमा खानेपानी, अप्टिकल, ग्यास, तेल, विद्युत प्रसारणलाइन राखिने सेनाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com