अमात्य र भुषाल मत माग्न व्यस्त


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

ललितपुर, ६ मंसिर ।  आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले मतदातासँग भोट माग्न घरदैलो अभियान गरिरहेका छन् । गाउँघरमा चुनावी चहलपहल बढ्दै गएको छ ।

निर्वाचनमा भाग लिन मतदाता आतुर देखिन्छन् । उम्मेदवार आफ्नो पक्षमा मत माग्न कसरत गरिरहेका छन् । काँग्रेस उम्मेदवार मदनबहादुर अमात्य २०७० सालको सविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । उहाँ यसपाली लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

“लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक छ,” उहाँले भन्नुभयो । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने अमात्यको भनाइ छ । आफ्नो चार वर्षको कार्यकालमा विकास निर्माणका कामलाई तीव्रता दिएको उहाँको दाबी छ ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुषाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा विजयी हुनुभएको थियो । आफ्नो विजय सुनिश्चित गराउन उहाँले घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । विसं २०६४ को निर्वाचनमा जस्तै जनताले यसपटक पनि आफूलाई निर्वाचित गराएर पठाउनेमा आफू विश्वस्त रहेको भुषालले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com