४६ हजार हैटीयनलाई अमेरिकाबाट देशनिकालाको प्रकृयामा राख्नु अमानवीय
प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

ट्रम्प प्रशासनले अमेरिकामा रहेका ४६ हजार टीपीएसप्राप्त हैटीका नागरिकहरुलाई १८ महिनाभित्र देशनिकाला हुनुपर्ने गरी टीपीएसको अवधि समाप्त पारेपछि आप्रवासी पक्षधर विभिन्न संघ संस्थाहरुले ट्रम्प प्रशासनको चर्को आलोचना गरेका छन् । न्युयोर्क इमिग्रेशन कोलियसनका कार्यकारी निर्देशक स्टेभन चोईले अमेरिकामा रहेका झण्डै ५० हजार हैटीयनको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासुनको घोषणा अमानवीय, निर्दयी र लज्जास्पद भएको बताएका छन् ।
उनले न्युयोर्कमा रहेका हैटीका नागरिकलाई नआत्तिन र कानुन व्यवसायीसँग सल्लाह लिन आग्रह गरेका छन् । साथै सन् २०१९ को जुलाईसम्म हैटीका नागरिकले अमेरिकामा काम गर्न पाउने अधिकारको संरक्षण गर्न पनि आफूहरु लागि पर्ने उनले बताएका छन् ।
हैटीका नागरिकहरुको टीपीएस अवधि सन् २०१९ को जुलाई २२ मा नथपिनेगरी समाप्त हुने भएको छ । त्यतीन्जेलसम्म भने अमेरिकामा रहेका टीपीएस प्राप्त हैटीका नागरिकहरुको वर्क परमिट अद्यावधिक रहनेछ । त्यसपछि भने उनीहरुले या त स्टेटस परिवर्तन गर्नुपर्नेछ, यात अमेरिका छाड्नुपर्नेछ । न्युयोर्कमा मात्र ५२ सय टीपीएस प्राप्त हैटीका नागरिकहरु छन् ।
स्मरणीय छ, नेपालको टीपीएस अवधि आगामी जुन २४ मा समाप्त हुनेछ जसबारे अमेरिकी सरकारले अप्रिलको अन्तिमसाताभित्र निर्णय गर्नेछ । नेपालको टीपीएसको अवधि नथपिएमा अमेरिकामा रहेका झण्डै ९ हजार नेपालीहरुले या त अमेरिका छाड्नुपर्नेछ, या त स्टेटस परिवर्तन गर्नुपर्नेछ ।